लन्डन । बेलायतको अल्डरसटमा एनआई फेसन एन्ड बुटिक यूके सञ्चालनमा आएको छ ।
व्यवसायीद्वय निरञ्जली लामा र प्रतिमान तामाङ दम्पतीद्वारा सञ्चालित बुटिकको भव्य उद्घाटन बुधबार सम्पन्न भएको हो । वयोवृद्ध भीमबहादुर तामाङ र धनमाया तामाङले रिबन काटेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा सञ्चालकहरूले बुटिकमा उपलब्ध सेवाबारे जानकारी दिएका थिए । बुटिक मा तामाङ, गुरुङ, मगर, राई, लिम्बू, क्षेत्रीलगायत विभिन्न जातजातिका सांस्कृतिक तथा परम्परागत पोसाक उपलब्ध छन् । साथै महिला, पुरुष तथा बालबालिकाका अन्य लत्ताकपडा पनि उपलब्ध छन् ।
-1784129704.jpg)
यूकेमा आगामी १ अगस्टमा पहिलो पटक आयोजना हुन लागेको तामाङ फेस्टिभललाई लक्षित गर्दै तामाङ समुदायका परम्परागत पोसाक विशेष रूपमा ल्याइएको सञ्चालकले बताएका छन् । सबै पोसाक तथा लत्ताकपडा सुपथ मूल्यमा उपलब्ध रहेको छ ।
बुटिक सञ्चालनको अवसरमा जुलाई महिनाभर सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । कार्यक्रममा उपस्थित शुभेच्छुकहरूले व्यवसाय सफलताको शुभकामना दिएका थिए ।
निरञ्जलीले यसअघि नेपालमा पनि बुटिक सञ्चालन गरिसकेकी छन् । उनको पहिलो शाखा काठमाडौँमा रहेको छ भने अल्डरसटमा खुलेको बुटिक दोस्रो शाखा हो । उनी व्यवसायसँगै मोडलका रूपमा पनि परिचित छिन् ।

यूकेमा बुटिक सञ्चालनअघि उनले अनलाइनमार्फत आफ्नो व्यवसाय गर्दै आएकी थिइन् । बुटिक तथा उपलब्ध सामग्रीबारे थप जानकारी सामाजिक सञ्जालमार्फत पनि लिन सकिनेछ ।