पूर्ण गुरुङ । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले आफ्नो गुम्बामा करिब एक वर्ष सेवा गरी नेपाल फर्कन लागेका तीन जना खेन्पो गुरुहरूलाई विशेष समारोहबीच बिदाइ गरेको छ ।
शनिबार, ११ जुलाईका दिन अल्डरसटस्थित बीसीसी युकेको गुम्बामा बिदाइ गरेको हो । काठमाडौँको बौद्धस्थित प्रसिद्ध सेचन गुम्बाबाट बीसीसी युकेको विशेष अनुरोधमा यूके आएका खेन्पो छिरिङ, खेन्पो वाङचुक र खेन्पो यन्तेनको बिदाइ गरेको हो ।
उनीहरूले गुम्बामा रहेर जन्मदेखि मृत्युसम्म गरिने विभिन्न कर्मकाण्डहरुका साथसाथै बौद्ध दर्शनमा सेवा गरेका थिए । सो अवसरमा बीसीसी युकेका अध्यक्ष आङदावा शेर्पाले गुरुहरूले पुर्याएको सेवाको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।
उनले मायाको चिनोसहित खादा लगाइदिएका थिए । खेन्पोत्रयले पनि बीसीसी यूके परिवारले दिएको माया, सेवा र सम्मानका लागि कृतज्ञता व्यक्त गरेका थिए ।
बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, धर्मगुरु निमा लुंगरिक रिन्पोछे, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, पूर्वअध्यक्ष धर्म तामाङ, पूर्व आमाप्रमुख जगना गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, आमा उपाध्यक्ष दुर्गा लक्ष्मी गुरुङलगायत कार्यसमितिका पदाधिकारी, सदस्य र आमाहरूले खादा लगाइदिएका थिए ।
बीसीसी युके लन्डन शाखाका अध्यक्ष गोपाल तामाङले खेन्पो वाङचुक र खेन्पो यान्तेनले शाखामा रहेर दिएको सेवाको लागि धन्यवाद दिए ।
कार्यक्रममा बेलायतको निजी भ्रमणमा रहेका सेचन गुम्बाकै खेन्पो घ्युर्मि दोर्जीलाई स्वागत र लामा सोनामलाई समेत बिदाइ गरिएको थियो ।
बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा लगायत कार्यसमितिका पदाधिकारी, कार्यसमिति सदस्यहरू र स्थानीय भक्तजनहरूको उपस्थिति थियो ।