जगदीश गुरुङ
लन्डन । लन्डनको ग्रिनफोर्डस्थित पोस्ट अफिस क्लबमा ११ जुलाई २०२६ शनिबारका दिन सोंपाल समाज युकेको वार्षिक बीबीक्यू तथा समर भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
समाजका अध्यक्ष जगदिश गुरुङको अध्यक्षता तथा युवा सदस्य दीपा गुरुङको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख आतिथ्य समाजकी वयोवृद्ध ज्येष्ठ सदस्य कमला गुरुङले गरेकी थिइन् । कार्यक्रमको मुख्य आकर्षण एवं विशिष्ट अतिथिका रूपमा सोंपाल समाज युकेको निमन्त्रणालाई स्वीकार गरी बेलायत आएका सोंपाल समाजकै छोरा, तमु ह्युल छोज धिं उपत्यका प्रमुख एवं प्रख्यात गायक तथा नायक धर्मराज (राजु) गुरुङ रहेका थिए।
अपराह्न १:३० बजे प्रमुख अतिथि श्रीमती कमला गुरुङ तथा विशिष्ट अतिथि राजु गुरुङलाई हलको प्रवेशद्वारमा संस्थापक आमा अध्यक्षबाट मङ्गल पाठसहित अध्यक्ष, आमा अध्यक्ष तथा अग्रजहरूले पुष्पगुच्छा र खादा ओढाएर भव्य स्वागत गर्दै मञ्च प्रवेश गराएका थिए । दिउँसो २:०० बजे कार्यक्रमकी संयोजक दीपा गुरुङले विस्तृत कार्यक्रम विवरण प्रस्तुत गरेपछि महासचिव क्याप्टेन गोर्खा इन्जिनियरका सेना सेवानिवृत्त मोहन गुरुङले औपचारिक रूपमा कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सुरक्षासम्बन्धी आवश्यक जानकारी चन्द्रबहादुर गुरुङले गराएका थिए। कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष जगदिश गुरुङ, आमा अध्यक्ष मनदेवी गुरुङ, प्रमुख अतिथि कमला गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ, संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ, एनआरएनएका प्रमुख संरक्षक डेभिड गुरुङ र अतिथि कलाकार राजु गुरुङले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए । सो अवसरमा दिवंगत सदस्यहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो।
कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष भरत गुरुङले स्वागत मन्तव्य राखेका थिए भने आमा अध्यक्ष मनदेवी गुरुङ र संस्थापक अध्यक्ष विजयबहादुर गुरुङले पनि आफ्नो भनाइ व्यक्त गरेका थिए । समारोहमा संस्थाका सदस्यहरूका साथै चेलीबेटी, ज्वाइँ तथा भान्जाभान्जीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको संक्षिप्त जीवनी महासचिव र वरिष्ठ उपाध्यक्ष भरत गुरुङले पढेर सुनाएका थिए । सोही अवसरमा प्रमुख अतिथि कमला गुरुङ र विशिष्ट अतिथि राजु गुरुङलाई अध्यक्ष जगदिश गुरुङ, आमा अध्यक्ष मनदेवी गुरुङ, संस्थापक अध्यक्ष विजयबहादुर गुरुङ, संस्थापक आमा अध्यक्ष नयिन्द्र गुरुङ, फस्ट लेडी सीमा गुरुङ, सांस्कृतिक सचिव सिर्जना गुरुङ र आमा उपाध्यक्ष कमला गुरुङको उपस्थितिमा खादा, सम्मानपत्र, मायाको चिनो, क्रमु फेटा र पुष्पगुच्छाद्वारा विशेष सम्मान गरिएको थियो।
यसैगरी, रिडिङ काउन्सिल चुनावमा विजयी हुनुभएकी प्रतीक्षा गुरुङ तथा उनका श्रीमान् दीपक गुरुङ र संस्थाकी संस्थापक उपाध्यक्ष पार्वती गुरुङ स्याङ्जा जिल्लाको आमा संयोजकको गरिमामय पदमा चयन भएकोमा उनी र श्रीमान् जुमबहादुर गुरुङलाई बधाईसहित सम्मान गरिएको थियो । साथै डा. यशिका गुरुङ र अन्य उपलब्धि हासिल गर्ने सदस्यहरूलाई पनि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेका बहुप्रतीक्षित कलाकार राजु गुरुङ मञ्चमा प्रवेश गर्दा उपस्थित सबैजना निकै उत्साहित देखिन्थे। उनको एकल साङ्गीतिक प्रस्तुतिमा दर्शकहरू झुम्दै झुमेका थिए। दर्शकको मनमुटुमा बस्न सफल उनका गीतहरूमा ‘शिरपाउ’ (पैसा) को वर्षा समेत भएको थियो। कार्यक्रममा समाजका बालबालिकाहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरूका साथै स्थानीय कलाप्रेमी सुजन गुरुङले पनि मिठो पप गीत प्रस्तुत गरेका थिए ।
आउटडोर खेलकुदअन्तर्गत सबै उमेर समूहका लागि विभिन्न खेलहरू खेलाइएको थियो भने बालबालिकाको मनोरञ्जनका लागि ‘बौन्सी क्यासल’ को समेत प्रबन्ध गरिएको थियो। नगद तथा बहुमूल्य पुरस्कारहरू समेटिएको राफल ड्र कार्यक्रम पार्वती गुरुङ र अन्तिम गुरुङले सञ्चालन गरेका थिए । उपस्थित सम्पूर्ण सदस्यहरूले स्वादिष्ट मोमो र नेपाली परिकारहरूको स्वाद लिँदै, एकआपसमा सुख-दुःख र अनुभवहरू साटासाट गरेर पूरा दिन आनन्दपूर्वक बिताएका थिए। कार्यक्रमको अन्त्यमा आगामी वर्ष पुनः भेट्ने बाचासहित समर भेटघाट कार्यक्रम सुखद रूपमा समापन भएकाे थियो ।

