१
समुद्रपारी भए पनि मातृभाषाको स्पन्दन उस्तै छ
प्रवासमा भए पनि नेपालीपनको धड्कन उस्तै छ
समय त्यो बेला होस् वा यो बेला, कुनै फरक छैन
भाषा-साहित्यको बाटो र तिम्रो योगदान उस्तै छ ।
२
शब्दमा शान भरिदियौ, भाषामा अभिमान भरिदियौ
नेपाली भाषाको आकाशमा नौलो विहान भरिदियौ
भानु! तिमीले रोपेको अक्षरको त्यो अमर विरुवाले
हरेक नेपालीको हृदयमा विशाल सम्मान भरिदियौ ।
३
शब्द-शब्दलाई शान दिएर नेपालीको मान बढायौ
जनताको मुख बोलीलाई साहित्यको प्राण बनायौ
हे ! अक्षरका आदित्य नतमस्तक भएँ म तिमीप्रति,
एउटै कलमले सिङ्गो राष्ट्रको पहिचान जोगायौ ।