एल्डरशट, बेलायत । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके) ले १० मे २०२६ मा सम्पन्न वार्षिक डिनर नाइट कार्यक्रमको समीक्षा तथा आगामी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ को तयारी बैठक सफलतापूर्वक सम्पन्न गरेको छ।
बैठक द प्यालेस रेस्टुरेन्ट, एल्डरशटमा नेफिन यूकेका अध्यक्ष मेजर योगेश राई अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू, सदस्य संस्थाका प्रतिनिधिहरू तथा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा नेफिन यूकेकी उपाध्यक्ष बिमला राईले उपस्थित सम्पूर्ण अतिथि, सल्लाहकार, कार्यसमिति सदस्य, प्रतिनिधि तथा स्वयंसेवकहरूलाई स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमहरूको सफलताका लागि सबैको निरन्तर सहयोग, सहभागिता र एकताको आवश्यकता रहेको उल्लेख गरेका थिए । बैठकको सञ्चालन नेफिन यूकेका महासचिव फ्रम दुराले गरेका थिए।
बैठकमा १० मे २०२६ मा एम्पायर हल, एल्डरशटमा सम्पन्न डिनर नाइट २०२६ को विस्तृत समीक्षा गरिएको थियो। कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, प्रायोजन, स्वयंसेवक परिचालन, भोजन व्यवस्था तथा समग्र सञ्चालन पक्षबारे व्यापक छलफल गरिएको थियो। समीक्षा क्रममा कार्यक्रमका सबल पक्षहरू तथा सुधार गर्नुपर्ने विषयहरू पहिचान गर्दै आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउन आवश्यक अनुभव तथा सिकाइ (Lessons Learned) अभिलेखीकरण गर्ने निर्णय गरिएको छ।
व्यापक छलफलपछि बैठकले डिनर नाइट २०२६ अत्यन्त सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ। उक्त कार्यक्रमले बेलायतभर रहेका आदिवासी जनजाति समुदाय, विभिन्न संघसंस्था, व्यवसायी, बुद्धिजीवी तथा शुभेच्छुकहरूलाई एकै स्थानमा भेला गराई आपसी एकता, सहकार्य तथा सांस्कृतिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बैठकले जनाएको छ। साथै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण प्रायोजक, कलाकार, स्वयंसेवक, अतिथि, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ।
बैठकका क्रममा नेफिन यूकेकी सल्लाहकार डा. सुमाया राई, सल्लाहकार भक्तबहादुर दुरा तथा सल्लाहकार एवं CNCBG का अध्यक्ष थर्क रानाले पनि आफ्ना महत्वपूर्ण सुझाव, सल्लाह तथा विचारहरू प्रस्तुत गरेका थिए । उनीहरूले डिनर नाइट २०२६ को सफल आयोजनाका लागि आयोजक टोलीलाई बधाई दिँदै आगामी कार्यक्रमहरूलाई अझ प्रभावकारी, व्यवस्थित तथा समावेशी बनाउन विभिन्न रचनात्मक सुझावहरू दिएका थिए । विशेष गरी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ लाई अझ भव्य, सभ्य तथा सफल बनाउन समुदायको व्यापक सहभागिता, समयमै तयारी, प्रभावकारी प्रचार–प्रसार तथा युवा पुस्ताको सक्रिय संलग्नतामा जोड दिइएको थियो । बैठकले उनीहरूद्वारा प्रस्तुत सुझावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्दै आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समावेश गर्ने निर्णय गरेको छ।
त्यसैगरी बैठकले आगामी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी (मुलवासी) जनजाति महोत्सव २०२६ को तयारी सम्बन्धमा विस्तृत छलफल गरी विभिन्न निर्णयहरू गरेको छ। महोत्सव शनिबार, ०८ अगस्ट २०२६ मा किरात हाउस, ग्याम्बल्स लेन, वकिङ बेलायतमा सम्पन्न हुँदैछ।
महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला, साहित्य, संगीत, खेलकुद, परम्परा तथा पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नुका साथै बेलायतस्थित विभिन्न समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउनु रहेको छ।
बैठकले महोत्सवका अवसरमा निम्न कार्यक्रम तथा प्रतियोगिताहरू आयोजना गर्ने निर्णय गरेको छः
उक्त निर्णय यस्तो छ
१. आदिवासी जनजातीय संघसंस्थाहरूबीच सांस्कृतिक तथा धार्मिक झाँकी प्रतियोगिता
२. पुरुष तथा महिला भलिबल प्रतियोगिता
३. परम्परागत धनुषवान प्रतियोगिता
४. स्वयंसेवी कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति
झाँकी प्रतियोगितामार्फत विभिन्न जातीय संस्थाहरूले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा, भेषभूषा, इतिहास तथा पहिचान झल्काउने झाँकी प्रदर्शन गर्नेछन्। भलिबल तथा धनुषवान प्रतियोगिताले खेलकुदमार्फत समुदायबीच मित्रता, सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी स्वयंसेवी कलाकारहरूले विभिन्न जातीय समुदायका मौलिक गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।
सम्पूर्ण जातीय संघसंस्थालाई सहभागिताको अनुरोध
नेफिन यूकेले बेलायतभरिका सम्पूर्ण आदिवासी जनजातीय संघसंस्था, समुदाय तथा सांस्कृतिक संगठनहरूलाई आ–आफ्नो सांस्कृतिक, धार्मिक तथा परम्परागत झाँकीसहित महोत्सवमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ। झाँकी प्रतियोगिताले नेपालका आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता, मौलिकता तथा समृद्ध सम्पदाको संरक्षण र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
स्टल बुकिङ खुला
बैठकले महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको छ। खाद्य परिकार, हस्तकला, व्यवसाय, सामाजिक संस्था, सांस्कृतिक प्रदर्शनी तथा अन्य सामग्री प्रदर्शन गर्न इच्छुक व्यक्ति वा संस्थाहरूले स्टल बुक गर्न सक्नेछन्। स्टल वितरण “पहिला आउनेलाई पहिला प्राथमिकता” (First Come, First Served) को आधारमा गरिने भएकाले इच्छुक सबैलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।
महासंघका अध्यक्ष श्री योगेश राईले भने, "डिनर नाइट २०२६ को सफलता सम्पूर्ण समुदायको एकता, सहयोग र समर्पणको परिणाम हो। यस वर्षका अनुभव र सिकाइलाई आधार बनाएर आगामी कार्यक्रमहरू अझ प्रभावकारी र भव्य बनाउने हाम्रो लक्ष्य रहेको छ। ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सवमा सहभागी भई आफ्नो संस्कृति, पहिचान र सम्पदाको प्रदर्शन गर्न सम्पूर्ण संघसंस्था, कलाकार, व्यवसायी तथा समुदायका सदस्यहरूलाई हार्दिक निमन्त्रणा गर्दछु।"
महोत्सव विवरण:
३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६
मिति: शनिबार, ०८ अगस्ट २०२६
समय: बिहान ११:३० बजेदेखि
स्थान: किरात हाउस, ग्याम्बल्स लेन, वकिङ बेलायत
स्टल बुकिङ तथा थप जानकारीका लागि सम्पर्क
बिमला राई
उपाध्यक्ष, नेफिन यूके
मोबाइल: 07727 899795
बोम थापा मगर
कोषाध्यक्ष, नेफिन यूके
मोबाइल: 07912 847615
स्टलहरू सीमित सङ्ख्यामा उपलब्ध भएकाले इच्छुक व्यवसायी, संघसंस्था तथा प्रदर्शकहरूलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।