लन्डन । नेपालबाहिर नेपाली समुदायद्वारा आयोजना हुने सबैभन्दा ठूलो खेलकुद प्रतियोगितामध्येको एक ’ए–स्टार नेपाल बास्केटबल लिग २०२६’ को पाँचौं संस्करणको उपाधि ग्रीनफोर्ड नाइट्सले जितेको छ । लन्डनस्थित ब्रुनेल विश्वविद्यालय स्पोट्र्स सेन्टरमा शनिबार सम्पन्न फाइनल भिडन्तमा स्याण्डहस्र्ट निक्सलाई पराजित गर्दै ग्रीनफोर्डले ट्रफी चुमेको हो ।
विजेता टोलीलाई लिगको मुख्य प्रायोजक ए–स्टार मोर्गेजेज युके तथा ए–स्टार रियल एस्टेट्स युकेका प्रबन्ध निर्देशक मिन दर्लामीले ट्रफी हस्तान्तरण गरे । त्यस्तै, लन्डन बरो अफ हन्स्लोका पूर्व मेयर बिष्णु बहादुर गुरुङ, तमु धी युकेका अध्यक्ष जुमकाजी गुरुङ तथा नेपाल पत्रकार महासंघ युके शाखाकी अध्यक्ष बिमला सेनेले विजयी तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए । नेपाल फुड्स र अनुग्रह ज्वेलर्सलगायतले खेलाडीहरूलाई गिफ्ट ह्याम्पर प्रदान गरे ।
प्रतियोगिताअन्तर्गत नै भएको भेटरान्सतर्फको खेलमा स्ल्यामर्स र ब्रिगेड बोइज क्लब (बीबीसी) बीच रोचक प्रतिस्पर्धा भएको थियो । यसैगरी, महिलातर्फ विमेन बलर्स क्लबले लन्डन हटशट्सलाई पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित नेपाली महिला बास्केटबल टोलीकी राष्ट्रिय कप्तान अनुशा मल्लले पनि विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरेकी थिइन् । खेलको स्तर उत्कृष्ट रहेको बताउँदै कप्तान मल्लले भनिन्, “नेपालबाहिर नेपालीहरूबीच यसरी भव्य खेल भइरहेको देख्दा निकै खुसी लागेको छ । समय मिलाएर खेललाई निरन्तरता दिन र आफ्नो प्यासनलाई फलो गर्न म सबैलाई आग्रह गर्छु ।“
यसअघि गत जुन २१ मा फेल्थमस्थित स्प्रिङवेस्ट एकेडेमीमा सम्पन्न सेमिफाइनल खेलहरूबाट फाइनलको समीकरण पूरा भएको थियो । पहिलो सेमिफाइनलमा स्यान्डहस्र्ट निक्सले ह्याम्पशायर हुपर्सलाई ८२–७७ को प्रतिस्पर्धात्मक अंकले तथा दोस्रो सेमिफाइनलमा ग्रीनफोर्ड नाइट्सले बलर्स स्ल्यामर्समाथि १०९–७७ को फराकिलो अन्तरले जित निकाल्दै फाइनल यात्रा तय गरेका थिए ।

‘फाइनल भिडन्त निकै रोमाञ्चक’
शनिबार भएको फाइनल भिडन्त निकै रोमाञ्चक र उच्च स्तरको रहेको लिगका संयोजक सार्थक गुरुङले बताए । त्यस्तै, नेपाल बास्केटबल यूकेका अध्यक्ष रूपक गुरुङले प्रतियोगितालाई यो उचाइसम्म पु¥याउन योगदान दिने सम्पूर्ण खेलाडी, स्वयंसेवक, प्रायोजक तथा दर्शकहरूप्रति आभार प्रकट गरे ।
मुख्य प्रायोजक ए–स्टार मोर्गेजेज तथा रियल एस्टेट्सका प्रबन्ध निर्देशक दर्लामीले यस्ता खेलले युवाहरूलाई रचनात्मक कार्यमा लाग्न प्रेरित गर्नुका साथै उनीहरूको व्यक्तित्व विकासमा समेत सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।
नेपाल बास्केटबल लिग यूकेले विमेन बलर्स क्लबसँगको सहकार्यमा आयोजना गरेको यस वर्षको लिगमा पुरुषतर्फ ११ र महिलातर्फ २ टोलीले प्रतिस्पर्धा गरेका थिए । गत १५ मार्च २०२६ देखि सुरु भएको यस प्रतियोगिताले बेलायतभर रहेका नेपाली मूलका प्रतिभाशाली युवा खेलाडीहरूलाई एउटै मञ्चमा ल्याएर खेलकुदप्रतिको आकर्षण र आपसी भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन् ।