लन्डन । द क्वीन्स गोर्खा इन्जिनियर्स (क्यूजीई)का ३१ ट्रेनिङ पार्टी समूहका नम्बरीहरूको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
मिचेटस्थित तमु धीं यूकेको भवनमा शनिबार ४ जुलाई २०२६ मा उक्त कार्यक्रम भएको हो । धन गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रम गम थापा र ननेनद्र गुरुङले दीप प्रज्वलन गरी कार्यक्रम को प्रारम्भ भएको थीयो । नम्बरीका सिनियर सदस्य गंगा राईले धन्यवाद मन्तव्य दिएका थिए भने इन्द्र गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
यस्तै प्रेम राई र नेपालबाट आएका गम थापाले भेलामा आफ्नो मन्तव्य राखेका थिए । भेटघाट कार्यक्रममा वेल्स, आसफोर्ड, मेडस्टोन, इस्ट लन्डनलगायत टाढा टाढा बस्ने नम्बरीहरूको समेत उपस्थिति थियो । आफ्नो दुःख, सुख, पीडाका भावनाहरूसँग जोडिएका नम्बरीहरू सँगको भेटघाट कार्यक्रम अति नै रोचक र भव्य रूपमा सफल भएको कार्यक्रम संयोजक नम्बरी धन गुरुङले जानकारी दिए ।
राम्रो मौसमका कारण पनि कार्यक्रम अति रमाइलो भएको सहभागी नम्बरीहरूको भनाइ छ । भेटघाटमा सुनिता थापाले भेलामा पहिलो पटक सहभागिता जनाएकी थिइन् । नम्बरीका आफन्तहरूको उल्लेख्य सहभागिताले पनि कार्यक्रमलाई विशेष बनाएको थियो ।
कार्यक्रममा राफल ड्र बीङ्गो साथै दिदीबहिनीहरूको खेल पनि समावेश गरिएको थियो । राफल ड्रका लागि आकर्षक पुरस्कार रहेकाले कार्यक्रम झनै रोचक बनेको थियो । राफल ड्रको पहिलो पुरस्कार सुनको चन्द्रमा ३२०१ गोपाल गुरुङले हात पार्न सफल भए । दिदीबहिनीको खेलमा ३२१९ नीता पुनले पहिलो पुरस्कार जितिन् ।
कार्यक्रमको दोस्रो चरणमा उपस्थित सबैले सामूहिक फोटो लिएका थिए । यसै क्रममा नम्बरीहरू ३२०१ गोपाल, सूर्यराम साथै प्रेमकुमार राईका परिवारका सदस्यहरूको सहभागिताले वार्षिक भेलाको माहोल झनै राम्रो बनेको आयोजकको भनाइ छ ।
कार्यक्रममा टेक खपाङ्गी मगर नम्बरीकी छोरीज्वाइँ शिगल लिम्बू आरएएफमा कमिसन हुनुको साथै छोरा स्टाफ सारजनमा पदोन्नति भएको उपलक्ष्यमा सम्पूर्ण नम्बरीहरूले खुसी बाडेका थिए ।
कार्यक्रममा खानाको व्यवस्थापन AM O’ZONE रेस्टुरेन्टले गरेको थियो । कार्यक्रम प्रभावकारी बनाउन नम्बरीहरूबीच जिम्मेवारी बाँडफाँट गरिएको थियो । पेय पदार्थ साथै बार सञ्चालनमा बुद्धिराम फोटो र भिडियोको कार्यभार टेक मगरले सम्हालेका थिए ।
पार्टी हल तयारीका लागि चन्दसिं गुरुङ, नेत्र गुरुङ, प्रेम गुरुङ, रत्न साही साथै म्युजिक साउन्ड सिस्टममा धन गुरुङले जिम्मेवारी लिएका थिए ।
संयोजक धन गुरुङले कार्यक्रम सफल पार्नका लागि धेरैजना नम्बरीहरूको प्रत्यक्ष-अप्रत्यक्ष सहयोग रहेको भन्दै उपस्थित हुने र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
कार्यक्रमको अन्त्यमा गम थापाले गोर्खा वेलफेयरमा पाइने सुविधाबारे पनि जानकारी गराएका थिए ।
-धन गुरुङ