बेलायत । ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (BGWS) को वार्षिक भेटघाट कार्यक्रम जुलाई ५, २०२६ का दिन फानब्रोस्थित ग्रेन्ज स्कूलमा सम्पन्न भयो । संस्थाका सदस्य र विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा गोर्खा हकहितका मुद्दामा छलफल हुनुका साथै विविध साङ्गीतिक प्रस्तुतिहरू राखिएका थिए ।
कार्यक्रमको प्रारम्भमा संस्थाका महासचिव छत्र राईले उपस्थित सबैलाई स्वागत गर्दै स्वास्थ्य तथा सुरक्षा (Health & Safety) सम्बन्धी जानकारी गराए। औपचारिक सत्र सुरु हुनुअघि सहभागीहरूको मनोरञ्जनका लागि तम्बोला खेल खेलाइएको थियो। तम्बोला खेल रमेश तामाङ र किशोर श्रेठले खेलाएका थिए ।
वार्षिक भेटघाटका अवसरमा संस्थाका तर्फबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका डा. दूत पुन, काउन्सिलर पदमा निर्वाचित उत्तरबहादुर गुरुङ, फोनिजको अध्यक्षमा निर्वाचित बम थापा सूर्यवंशी र बिसिसी युके आमा समूहको अध्यक्षमा निर्वाचित शारदा गुरुङ थिए । त्यसैगरी, ‘स्ट्यान्डर्ड बेयरर’ को संयोजकका रूपमा योगदान दिएका ओम थापा काउचा, बिजीडब्लुएसका हरेक गतिविधिमा संगीतका माध्यमबाट विशेष योगदान पुर्याएका कृष्ण राई तथा युट्यूब मार्फत गोर्खा परिवारमा जनचेतना दिन सफल ओमेन्द्र गुरुङ, युकेमा चर्तित गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमुले पुर्याएको योग्दानको कदर गर्दै अध्यक्ष देवनले खादा लगाएर सबैलाई सम्मान गरेको थियो ।
संस्थाका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा भूपू गोर्खाहरूको समान पेन्सनको मुद्दा र हालै सम्पन्न जी-टेन बैठकका गतिविधिहरूबारेमा जानकारी गराएका थिए । अध्यक्ष देवानले गोर्खाहरूले भोग्दै आएका समस्या र त्यसको समाधानका लागि भएका पछिल्ला प्रगतिबारे सहभागीहरूलाई प्रस्ट पारेका थिए ।
नेपालको हाइड्रो पावरमा सोसाइटीका सदस्यहरुले गरेको लगानी बारे मन्दकिनी हाइड्रोपावर प्रा. लि. का डाइरेक्टर बिष्णु तामाङले जानकारी दिएका थिए । गोर्खा वेलफेयर प्रोपर्टी लिमिटेडका डाइरेक्टर ले. रि. मुक्तिजङ्ग गुरुङले गोर्खा भवनको स्थिति बारे प्रष्टाएका थिए ।
मनोरञ्जनतर्फ चर्चित मोडल तथा नृत्याङ्गना सरिश्मा मगरले आफ्नो आकर्षक नृत्य प्रस्तुत गरिन् । कार्यक्रमको अर्को आकर्षणका रूपमा १० वटा नगद उपहारसहितको राफल ड्र आयोजना गरियो भने अन्त्यमा सहभागीहरू डिजे ककटेल डान्समा झुमेर मनोरञ्जन लिए ।
'द प्यालेस' ले खानाको व्यवस्था गरेको उक्त कार्यक्रमको फोटो र भिडियो छायाङ्कन गोर्खा मिडियाले गरेको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष मेजर टिकेन्द्रदल देवानले उपस्थित सबैलाई धन्यवाद दिए।
कार्यक्रमको सञ्चालन सचिव रामलाल श्रेष्ठले गरेक थिए । अन्त्यमा कार्यक्रममा सहभागीहरुको सामूहिक फोटो पनि खिचिएको थियो ।




