लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बिजनेस एन्ड इन्भेस्टमेन्ट फोरम डिनर सम्पन्न भएको छ ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्स बीएनसीसीको आयोजनामा सम्पन्न कार्यक्रममा दुई देशीय व्यापार तथा लगानीका विभिन्न आयामबारे अन्तर्क्रिया भएको हो ।
प्रमुख वक्ताका रूपमा नेपालका लागि बेलायती राजदूत रब फेन र बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
राजदूत फेनले नेपालमा विदेशी लगानीका प्रशस्तै अवसर रहेको बताए । बेलायती लगानीकर्ताका लागि नेपाल खुला रहेको र नेपाल सरकारले पनि सोहीअनुसार लगानी आकर्षित र प्रोत्साहित गरिरहेको उनको भनाइ थियो ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत दुवाडीले नेपाल र बेलायतबीचको लगानी तथा व्यापार सम्बन्ध बिस्तारका सम्भावना खोज्ने कोसिस गरिएको बताए ।
बेलायतको बिजनेस कम्युनिटीलाई नेपालमा रहेका अवसरसँग जोड्ने उद्देश्यले दूतावासले आर्थिक सम्मेलनको पहल गरेको उनले बताए ।
कमर्सका अध्यक्ष बिराज भट्टले नेपालमा लगानी र व्यापारका लागि प्रशस्त अवसर रहे पनि अहिलेसम्म त्यसअनुसारको उपलब्धि हासिल हुन नसकेको बताए ।
उपाध्यक्ष इन्द्र गिरीले सञ्चालन गरेको कार्यक्रममा वेस्ट लन्डन चेम्बर अफ कमर्सका सीईओ एलन राइड्स र डेपुटी चेयर डा रेनु राज, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका सीईओ स्टिभ बक्लीलगायतले पनि दुई देशबीचको आर्थिक सम्बन्ध बिस्तारका सम्भावनाबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा बेलायत र नेपालको व्यापार तथा लगानी क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला व्यक्ति र संस्थाका प्रतिनिधिदेखि विभिन्न पेसाकर्मीको सहभागिता थियो ।
युके-नेपाल आर्थिक साझेदारी सम्मेलनको पूर्वसन्ध्यामा कार्यक्रम भएको हो ।