बेलायत । तमु प्ये ल्हु संघ युकेले आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै यस वर्षको वार्षिक भेटघाट तथा समर बिबिक्यु कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । शनिबार, २७ जुन २०२६ का दिन रिडिङस्थित संघको आफ्नै कार्यालयमा आयोजित उक्त कार्यक्रम संघका अध्यक्ष क्याप्टेन डेम बहादुर योज तमुको संयोजकत्वमा सञ्चालन भएको थियो ।
कार्यक्रमको सुरुवात प्राकृतिक सन्तुलन, सुख-शान्ति र समृद्धिको कामना गर्दै गरिएको परम्परागत पूजाआजाबाट भएको थियो । कार्यक्रमको दिनको बिहानैदेखि तमु पुरोहित पच्यु र क्ल्हेप्री गुरुहरूले छ्योप त्हेँ र थासोँ त्हेँ सम्पन्न गराएका थिए । खेगी समितिका अध्यक्ष पच्यु चिवा जीत क्रोम्छे तमुको संयोजन र संघका प्रथम उपाध्यक्ष पूर्णबीर प्हच्यु तमुको व्यवस्थापकीय नेतृत्वमा सम्पन्न सो पूजामा जीत क्रोम्छे, अमृत ङोप्छे, बुद्धि कुप्छे, हिरा म्होब्छे र डम्बर टु क्ल्हेप्री गुरुहरूको सहभागिता रहेको थियो। धार्मिक विधि पश्चात् गुरुहरूले उपस्थित जनसमुदायलाई रक्षाबन्धन (प्हैरु) बाँधी मन्त्रोच्चारणसहित आशीर्वाद दिएका थिए ।
मनोरन्जनको पाटोतर्फ विभिन्न खेलकुद र रचनात्मक क्रियाकलापहरू समावेश गरिएको थियो । संघका तृतीय उपाध्यक्ष डम्बर टु क्ल्हेप्री तमुको संयोजनमा आयोजित अन्तर भाई खलक बास्केटबल सुटिङ प्रतियोगितामा क्रोम्छे–त्होर्जे–थिम्चे भाई खलक युकेले प्रथम स्थान हासिल गर्दै टिपिएलएस कप र नगद पुरस्कार प्राप्त गर्यो । सो प्रतियोगितामा केप्छे–म्होब्छे–योज दोस्रो र ल्होँ/कुप्छे समूह तेस्रो भए। त्यस्तै, आमा समूहको एकल सुटिङ प्रतिस्पर्धामा यमुना प्हच्यु तमु, बबिता प्हच्यु तमु र पदम माया ल्हेँगे तमुले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पारे ।
युवा समितिका अध्यक्ष खिम टु क्ल्हेप्री तमुको सक्रियतामा बालबालिकाहरूका लागि स्पुन रेस र तातो आलु जस्ता रमाइला खेलहरू सञ्चालन गरिएका थिए । साथै, साना बालबालिकाहरूलाई तमु भेषभुषा र कलाबारे जानकारी दिने उद्देश्यले आयोजित कलर-पेन्टिङ प्रतियोगिताले उनीहरूको प्रतिभा प्रस्फुटनमा सहयोग पुर्याएको आयोजकले बताए । विजेता बालबालिकाहरूलाई पुरस्कार वितरण गरी उत्साहित गरिएको थियो ।
कार्यक्रमको औपचारिक सत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । हालै सम्पन्न 'क्होला सोँप्रे ट्हो' अन्वेषण भ्रमण टोलीलाई सफलताको शुभकामनासहित सम्मान गरिएको थियो । त्यसैगरी, संघको भवन मर्मत र विभिन्न गतिविधिमा सक्रिय भूमिका खेल्ने वयोवृद्ध प्रेम बहादुर प्हच्यु तमु, क्षेत्रीय प्रतिनिधि मान बहादुर केप्छे तमु र महिला प्रतिनिधि कुनमाया ल्होँ तमुलाई पनि सम्मान-पत्र प्रदान गरिएको थियो । तमु प्ये ल्हु संघ भरतपुर, चितवनका पूर्व अध्यक्ष लाल बहादुर म्रु तमु र उनकी धर्मपत्नीलाई समेत संघले स्वागत तथा सम्मान गरेको थियो ।
आकर्षणको अर्को केन्द्र राफल ड्रमा स्मृती च्हाक्ली तमु, धनरुपा योज तमु र यमुना प्हच्यु तमुले पुरस्कार जित्न सफल भए । उक्त लक्की ड्रका लागि डुंगा रेष्टुरेण्ट, जय श्री कृष्ण ज्वैलर्स र गोर्खा किचनले पुरस्कार प्रायोजन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारहरूले सहभागीहरूलाई भरपूर मनोरञ्जन दिए। वरिष्ठ गायिका शर्मिला प्हच्यु तमु, दुर्गा प्हच्यु तमु, तिलक प्ल्हेँ तमु, मन्जु बिक, शर्मिला ल्हेँगे तमु र पुनम केप्छे तमुको सांगीतिक प्रस्तुतिमा दर्शकहरू झुमेका थिए । कलाकारहरूलाई सम्मान-पत्र र खादा ओढाएर बिदाइ गरिएपछि संघका पदाधिकारी तथा आमा समूहले परम्परागत रोधीं बसेर कार्यक्रमको समापन गरेका थिए ।






