यमुनोत्री, भारत । चारधाम तीर्थयात्रामा सहभागी बेलायतबाट आएको शुष्मा गुरुङ नेतृत्वको तीर्थयात्री टोलीले तेस्रो दिन, जुन २९ मा भारतको उत्तराखण्डस्थित पवित्र यमुना नदीको उद्गमस्थल यमुनोत्री धामको दर्शन गरेको छ ।
चारधाम तीर्थयात्राको पहिलो गन्तव्यका रूपमा परिचित यमुनोत्री मन्दिर गढवाल हिमालयको समुद्री सतहबाट ३ हजार २९३ मिटरको उचाइमा अवस्थित छ । मन्दिरमा देवी यमुनाको कालो संगमरमरको मूर्ति प्रतिष्ठित रहेको छ भने यहाँका प्राकृतिक तातोपानीका कुण्डहरू प्रमुख आकर्षणका रूपमा चिनिन्छन् ।
टोलीकी सहसंयोजक शर्मिला गुरुङका अनुसार बेलायत र नेपालबाट सहभागी ३२ जना तीर्थयात्रीले सकुशल यमुनोत्री मन्दिर पुगेर दर्शन गर्न सफल भएका छन् । ‘सबै जना सुरक्षित रूपमा मन्दिर पुगेर दर्शन गर्न पाउँदा निकै खुशी लागेको छ,’ उनले भनिन् ।

यमुनोत्री पुग्न सवारी साधनबाट ओर्लिएपछि करिब पाँच किलोमिटर उकालो पैदल यात्रा गर्नुपर्ने हुन्छ । यमुना नदीको किनारैकिनार निर्माण गरिएको पदमार्ग व्यवस्थित रहेको देखिन्छ । बाटोभरि घोडा, चार जनाले बोक्ने पालकी (डोली) तथा डोको सेवाको व्यापक प्रयोग भइरहेको थियो । टोलीका केही सदस्य घोडा र डोकोको सहायता तथा पैदल यात्रा गर्दै मन्दिर पुगेका थिए ।
मन्दिर परिसरमा प्रवेश गरेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै तप्तकुण्डमा स्नान गर्ने व्यवस्था रहेको छ । अधिकांश तीर्थयात्रीले स्नानपछि मुख्य मन्दिरमा पूजा अर्चना तथा दर्शन गरेका थिए ।
धार्मिक मान्यताअनुसार यमुनोत्रीको पवित्र जल र प्राकृतिक तातोपानीका कुण्डमा स्नान गर्दा पापबाट मुक्ति मिल्ने, आत्मशुद्धि हुने तथा अकाल मृत्युबाट रक्षा हुने विश्वास गरिन्छ ।
चारधाम यात्राको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेपछि टोली अब गंगोत्रीतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।