लन्डन । गोर्खा मिडिया यूके र डीएमटी ब्यान्ड यूकेको आयोजनामा लाइभ दोहोरी धमाका सम्पन्न भएको छ ।
स्पाइनल कर्डसम्बन्धी गम्भीर समस्याबाट पीडित सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका-४ निवासी यामबहादुर गुरुङको स्वास्थ्योपचार सहयोगार्थ कार्यक्रम आयोजना गरिएको हो ।
बेलायतको अल्डरसटस्थित दि लन्जमा २८ जुनमा भएको कार्यक्रममा ब्यान्डका फाउन्डर डाइरेक्टर दिनेश गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ प्रमुख अतिथि र ग्रेटर रस्मूर नेपाली कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो विशेष अतिथि रहेका थिए । दुवैले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । त्यसपछि कलाकारहरूले लाइभ राष्ट्रिय गान प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि गुरुङले शुभकामना मन्तव्य राख्दै मानवीय सहयोगका लागि कार्यक्रम आयोजना गरेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका चर्चित गायिकाहरू शर्मिला गुरुङ र सविना बुढा मगर, कौडाकिङ दुर्गा गुरुङ र वरिष्ठ बाँसुरीवादक धनबहादुर गुरुङ र लोकदोहोरी गायक बालचन्द्र बरालको दमदार प्रस्तुति रहेको थियो ।
उनीहरूको दोहोरी र लाइभ गायनमा दर्शकले पनि साथ दिएका थिए । दर्शकले पनि दोहोरी गाएका थिए ।
टिकटदर १० पाउन्ड तोकिएको थियो । सो अवसरमा संकलन भएको रकमबाट कलाकारको खर्च कटाएर बाँकी रहेको ५० हजार रुपैयाँ यामबहादुर गुरुङको उपचारका लागि सहयोग गरिनेछ ।
अन्त्यमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।