लन्डन। वेलायतबाट २८ सदस्यीय टोली पवित्र चारधाम यात्राका लागि बिहीबार, जुन २६ मा लन्डनबाट नयाँ दिल्ली प्रस्थान गरेको छ।
शिव कल्चर एन्ड कम्युनिटीकी उपाध्यक्ष श्रीमती शुष्मा गुरुङको संयोजनमा आयोजित यो धार्मिक यात्रा जुन २० देखि सुरु भई जुलाई १२ मा सम्पन्न हुने जनाइएको छ। वेलायतबाट २८ र नेपालबाट ४ जना सहभागी भएपछि टोलीको कुल संख्या ३२ पुगेको छ।
यात्राका क्रममा यमुनोत्री, गंगोत्री, केदारनाथ र बद्रीनाथको दर्शन गरिनेछ। साथै भारतको ऐतिहासिक शहर जयपुरको भ्रमणसमेत कार्यक्रममै समावेश गरिएको छ।

श्रीमती गुरुङले विगत केही वर्षदेखि नेपाल र विदेशमा रहेका नेपाली तथा विदेशी नागरिकलाई सहभागी गराई विभिन्न धार्मिक तथा सांस्कृतिक गन्तव्यहरूको भ्रमण आयोजना गर्दै आइरहेकी छन्। सन् २०२३ मा उनले २६ सदस्यीय टोलीलाई तिरुपति, बालाजी र जगन्नाथपुरीको यात्रा गराएकी थिइन्। त्यसपछि सन् २०२४ मा ३० सदस्यीय टोलीसहित कैलाश,मानसरोवर र ल्हासाको भ्रमण सम्पन्न गरेकी थिइन् भने सन् २०२५ मा वृन्दावन, आग्रा, अयोध्या, प्रयागराज र वाराणसीको भ्रमण आयोजना गरेकी थिइन्।
उनका अनुसार प्रत्येक भ्रमणमा विदेशी सहभागीसमेत रहने गरेका छन्। यसपटकको यात्रामा न्यूजिल्यान्ड तथा भारतीय मूलका दुई ब्रिटिश नागरिक पनि सहभागी छन्।
यात्रामा सहभागी पहलमान गुरुङले लन्डनमा केही दिनयता करिब ३७ डिग्री सेल्सियस तापक्रम अनुभव गरिसकेकाले नयाँ दिल्लीको गर्मीसँग एकैपटक भेट्दा सहज हुने बताए।
यस वर्षको यात्राको मूल नारा “A Sacred Journey to the Abodes of Divine Blessings” रहेको छ। टोलीले बोकेको ब्यानरमा “आस्था, प्रेम, एकता, सद्भाव र शान्ति” जस्ता सन्देश समेटिएका छन्।
यात्रामा सहभागी रोहित गुरुङले भने, “यी सकारात्मक सन्देशलाई आत्मसात् गर्दै हामी चारधाम यात्रा सम्पन्न गर्नेछौँ।”
यात्रा प्रारम्भसँगै टोलीमा धार्मिक आस्था, उत्साह र आपसी सद्भावको विशेष वातावरण देखिएको सहभागीहरूले बताएका छन्।
