बेलायत । बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा गत शनिबार २० जुन २०२६ मा सयपत्री नेपाली सांस्कृतिक मञ्च युकेको २०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई प्रवासमा जगेर्ना गर्ने उद्देश्यले आयोजित वार्षिकोत्सवसहितको 'सयपत्री साँझ’ मा बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
तमु धिँ यूकेका अध्यक्ष जुम काजी गुरुङ र आमा समूहकी अध्यक्ष कमला देवी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको थियो । विशेष अतिथिका रूपमा उपमेयर जीव बेलबासेको उपस्थिति रहेको उक्त समारोहमा सयपत्रीका अध्यक्ष दीपक शाही, प्रमुख अतिथिहरु र उपमेयरले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपाल र बेलायतको राष्ट्रिय गानबाट सुरु भएको सो कार्यक्रममा बालबालिकाहरुलाई विशेष स्वागत र सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तमु धिँ यूकेका अध्यक्ष जुम काजी गुरुङ शुभकामना मन्तव्य राख्दै सयपत्रीले गरेका राम्रा कामको प्रशंसा गर्दै प्रगतिको शुभकामना दिएका थिए ।
सांस्कृतिक विविधताले भरिएको उक्त साँझमा नेपालबाट आएका चर्चित कलाकारहरू प्रकाश दुतराज, सम्झना भण्डारी र ‘कौडा किङ’ दुर्गा गुरुङलाई स्वागत र सम्मान गरिएको थियो । त्यसपछि कलाकारहरुले आफ्ना उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरु दिएका थिए । कलाकारहरूको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । कार्यक्रमको सांस्कृतिक खण्डलाई स्वरुपा थापा मगरले सञ्चालन गरेकी थिइन् भने संस्थाका महासचिव गौरव क्षेत्रीले समग्र कार्यक्रमको सञ्चालन गरेका थिए ।
सयपत्रीले आफ्नो दुई दशक लामो यात्रालाई समेटेर तयार पारेको विशेष डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो । संस्थाको स्थापनाकालदेखि हालसम्म महत्वपूर्ण योगदान पु¥याउने संस्थापक अध्यक्ष एलबी गुरुङ, संस्थापक सदस्य कविता घर्ती मगर र संस्थापक सदस्य सन्तोष विश्वकर्मालाई ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरु तीनै जना अहिले संस्थाको ट्रस्टीका रुपमा संस्थामा आवद्ध छन् । उनीहरुले पु¥याएको योगदानको कदर गर्दै संस्थाले विशेष आभार व्यक्त गरेको थियो ।
नृत्यका तर्फ सयपत्री कल्चरल ग्रुपले भुमे नाच, थारु लाठी नाच र चर्चित गीत ‘वारी जमुना पारी जमुना’मा मौलिक नृत्य प्रस्तुत गरेका थिए । नेपाली मौलिक नृत्य र गीतको सम्मिश्रणले अल्डरसटको एम्पाएर हल शनिबार साँझ नेपालीपनले गुञ्जायमान बनेको थियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष दीपक शाहीले संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, मिडिया पार्टनर (गोर्खा मिडिया) र सहयोगी हातहरूलाई धन्यवाद दिएका थिए । उनले सयपत्री र तमु धिँ यूकेबीचको आपसी सहकार्य आगामी दिनमा अझ मजबुत हुने विश्वास समेत व्यक्त गरे ।




