अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ यूके (नेफिन यूके) ले डिनर नाइटको समीक्षा तथा आसन्न ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव तयारीबारे छलफल गरेको छ ।
अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बसेको समीक्षा तथा तयारी बैठक संस्थाका अध्यक्ष मेजर योगेश राईको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा कार्यसमिति सदस्य, सल्लाहकार, सदस्य संस्थाका प्रतिनिधि तथा स्वयंसेवकको उल्लेखनीय उपस्थिति थियो ।
प्रारम्भमा नेफिन यूकेकी उपाध्यक्ष बिमला राईले स्वागत मन्तव्य व्यक्त गर्दै सबैलाई स्वागत गरेकी थिइन् । बैठक सञ्चालन महासचिव फ्रम दुराले गरेका थिए ।
बैठकमा १० मे २०२६ मा अल्डरसटको एम्पायर हलमा सम्पन्न डिनर नाइटको विस्तृत समीक्षा गरिएको थियो । कार्यक्रम व्यवस्थापन, अतिथि सत्कार, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, प्रायोजन, स्वयंसेवक परिचालन, भोजन व्यवस्था तथा समग्र सञ्चालन पक्षबारे व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमका सबल पक्ष तथा सुधार गर्नुपर्ने विषय पहिचान गर्दै आगामी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक अनुभव तथा सिकाइ अभिलेखीकरण गर्ने निर्णय गरिएको छ । छलफलपछि डिनर नाइट सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ ।
कार्यक्रमले बेलायतभर रहेका आदिवासी जनजाति समुदाय, विभिन्न संघसंस्था, व्यवसायी, बुद्धिजीवी तथा शुभेच्छुकहरूलाई एकै स्थानमा भेला गराई आपसी एकता, सहकार्य तथा सांस्कृतिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बैठकले जनाएको छ ।
साथै कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण प्रायोजक, कलाकार, स्वयंसेवक, अतिथि, सञ्चारकर्मी तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।
बैठकमा नेफिन यूकेकी सल्लाहकार डा. सुमाया राई, सल्लाहकार भक्तबहादुर दुरा तथा सल्लाहकार एवं CNCBG का अध्यक्ष थर्क रानाले डिनर नाइटको सफल आयोजनाका लागि आयोजक टोलीलाई बधाई दिँदै आगामी कार्यक्रम अझ प्रभावकारी, व्यवस्थित तथा समावेशी बनाउन रचनात्मक सुझाव दिएका थिए ।
विशेष गरी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव २०२६ अझ भव्य, सभ्य तथा सफल बनाउन समुदायको व्यापक सहभागिता, समयमै तयारी, प्रभावकारी प्रचार–प्रसार तथा युवा पुस्ताको सक्रिय संलग्नतामा जोड दिएका थिए । बैठकले सुझावहरूलाई ग्रहण गर्दै आगामी योजना तथा कार्यक्रम कार्यान्वयनमा समावेश गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले आगामी ३२औँ अन्तर्राष्ट्रिय आदिवासी (मुलवासी) जनजाति महोत्सव २०२६ को तयारी सम्बन्धमा विस्तृत छलफल गरी विभिन्न निर्णयहरू गरेको छ । महोत्सव शनिबार, ०८ अगस्ट २०२६ मा किरात हाउस, ग्याम्बल्स लेन, वकिङ बेलायतमा हुँदैछ ।
महोत्सवको मुख्य उद्देश्य नेपालका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला, साहित्य, संगीत, खेलकुद, परम्परा तथा पहिचानको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नुका साथै बेलायतस्थित विभिन्न समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउनु रहेको छ ।
महोत्सवका अवसरमा आदिवासी जनजातीय संघसंस्थाबीच सांस्कृतिक तथा धार्मिक झाँकी प्रतियोगिता, पुरुष तथा महिला भलिबल, परम्परागत धनुषवान प्रतियोगिता, स्वयंसेवी कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति हुनेछ ।
झाँकी प्रतियोगितामार्फत विभिन्न जातीय संस्थाहरूले आफ्नो मौलिक संस्कृति, धार्मिक परम्परा, भेषभूषा, इतिहास तथा पहिचान झल्काउने झाँकी प्रदर्शन गर्नेछन्।
भलिबल तथा धनुषवान प्रतियोगिताले खेलकुदमार्फत समुदायबीच मित्रता, सद्भाव तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी स्वयंसेवी कलाकारहरूले विभिन्न जातीय समुदायका मौलिक गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्नेछन् ।
नेफिन यूकेले बेलायतभरिका सम्पूर्ण आदिवासी जनजातीय संघसंस्था, समुदाय तथा सांस्कृतिक संगठनहरूलाई आ–आफ्नो सांस्कृतिक, धार्मिक तथा परम्परागत झाँकीसहित महोत्सवमा सक्रिय सहभागिता जनाउन हार्दिक अनुरोध गरेको छ ।
झाँकी प्रतियोगिताले नेपालका आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता, मौलिकता तथा समृद्ध सम्पदाको संरक्षण र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।
बैठकले महोत्सवका लागि स्टल बुकिङ खुला गरिएको जानकारी दिएको खाद्य परिकार, हस्तकला, व्यवसाय, सामाजिक संस्था, सांस्कृतिक प्रदर्शनी तथा अन्य सामग्री प्रदर्शन गर्न इच्छुक व्यक्ति वा संस्थाहरूले स्टल बुक गर्न सक्नेछन् । स्टल वितरण पहिला आउनेलाई पहिला प्राथमिकताका आधारमा गरिने भएकाले इच्छुक सबैलाई समयमै बुकिङ गर्न अनुरोध गरिएको छ।
यस वर्षका अनुभव र सिकाइलाई आधार बनाएर आगामी कार्यक्रम अझ प्रभावकारी र भव्य बनाउने लक्ष्य रहेको अध्यक्ष राईले बताए ।