एकजना लेखकको पुस्तक पढिरहेको छु, उहाँलाई भेट्न भने सकिरहेको थिइनँ । हङकङ, बेलायत र नेपाल गरी तीन देशमा बराबरजसो बसोबास गर्ने सुनेको थिएँ, तर देखेको थिइनँ । एकदिन बेलायतबाट हङकङ साहित्यिक साझा शृङ्खलामा दमदार कविता वाचनका साथ उहाँसँग पहिलो पटक टुपुलुक्क साक्षात्कार भयो । उहाँ हुनुहुन्थ्यो, कवि एवं लेखक जानु काम्बाङ लिम्बू ।
उहाँको कविताको वजन र वाचनकला निकै शक्तिशाली लाग्यो । आजकल पनि उहाँ तीन देशतिरै डुलिरहनुहुन्छ । हङकङमा खोजी गर्दा ‘बेलायत, सेक्सपियरको जन्मथलोतिर घुम्दै छु दाजु’ भन्नुहुन्छ । जानु हङकङबाहिर हुनुहुन्छ होला भनी सोचिरहेका बेला साहित्यिक भेलामा टुपुलुक्क आइपुग्नुहुन्छ । कार्यक्रममा निम्तो दियो, नेपालतिर पुगिसक्नुहुन्छ । जानु काम्बाङ लिम्बूका फुटकर गीत, कविता र अन्य लेख-रचनाहरू सुन्दै र पढ्दै आए पनि सिंगो पुस्तकका रूपमा भने ‘नउघ्रेको जून’ कथा सङ्ग्रह नै पहिलो हो ।
रोयल साइजमा १७४ पेजको यस पुस्तकमा २० वटा कथाहरू दुबोको मालाझैँ निकै सुन्दर ढङ्गले उनिएका छन् । पाँचथर फेदेनकी फुच्ची ‘इच्छा’देखि हङकङकी ‘नर्मा’सम्मका सर्लाक्क जीवनहरू यहाँ भेटिन्छन् । हर्के र सरमानहरूको जीवन पनि सँगसँगै हिँडेका छन् । २० वटा कथामा कथा मात्र फरक छैनन्, तिनका भोगाइ, भूगोल, संस्कृति, भाषा र विचारहरू पनि फरक छन् । नेपाली भान्साघरमा सीमित खानाका परिकार पाइन्छन्, तर कोरियन भान्साघरमा अनेक परिकार हुन्छन् । ‘नउघ्रेको जून’ पनि कोरियन भान्साघर जस्तै फरक-फरक स्वादका थुप्रै कथाहरूको सँगालो हो ।
शीर्ष कथा नउघ्रेको जूनमा घरभित्र हुने उत्पीडन, बलात्कार र एकतर्फी प्रेमको वियोगान्त कथा छ । यो एक बौद्धिक अपाङ्गता भएकी १६ वर्षे बालिका र जीवन नाम गरेका एक प्रहरी जवान बीचको एकतर्फी प्रेम कथा हो । एक टुहुरी केटीलाई आफन्तहरूले सहाराको नाममा श्रम शोषण मात्र गरेका छैनन्, बलात्कारदेखि हत्या गरेर आत्महत्याको रूप समेत दिएका छन् । कथाको मुख्य पात्र जीवन, नामसमेत थाहा नभएकी केटीप्रति आकर्षित हुन्छ । उनी टुहुरी मात्र नभएर लाटी (बोल्न नसक्ने) पनि भएको कुरा उनले धेरै पछि मात्र थाहा पाउँछन् ।
जानुको लेखनमा ‘सस्पेन्स’ भेटिन्छ, जसले गर्दा अब के हुन्छ होला ? भन्दै पाठक अगाडि बढिरहन्छन् । लेखकमा हुनुपर्ने यो एउटा विशेष गुण हो । केटीको सच्चाई थाहा पाएपछि पनि जीवनले उसलाई उत्तिकै प्रेम गर्नु नारीप्रतिको सम्मान हो र पितृसत्तात्मकताले ग्रस्त समाजप्रति सकारात्मक सन्देश हो । साँचो माया-प्रेममा पैसा, वासना र स्वार्थ केही हुन्न भन्ने सन्देश पनि यो कथामार्फत दिन खोजिएको छ ।
‘बिछोडको पीडा’ कथामा हर्के र मुन्दुली काभ्राबोटेका मायालु जोडी हुन् । असल दम्पती गरिबीभित्र पनि खुसी रहन सक्छन् भन्ने उदाहरण हुन् उनीहरू । धनीकी छोरी मुन्दुलीले गरिब हर्केसँग प्रेमविवाह गरेपछि माइतीपक्षले तत्काल स्वीकार गर्दैनन् । तर मुन्दुलीकी आमाले छोरी-ज्वाइँलाई घर बोलाउन जुन भूमिका खेलिन्, त्यसले राई-लिम्बू समुदायमा महिला घरमूली कति शक्तिशाली हुन्छन् भन्ने कुरा देखाउँछ । गरिबी भोगेका हर्केलाई आफ्ना सन्तानले गरिबी भोग्न नपरोस् भनी, परिवारको खुसीका निम्ति उनी विदेश जान्छन् । यो प्रवृत्ति नेपालका घर-घरकै कथाजस्तै बनेको छ । अचेल हरेक युवा हुर्कन पाएका छैनन्, विदेश जाने सपना बुन्न थालिहाल्छन् ।
कथामा हर्केले विदेशबाट पैसा पठाइरहेको छ, मुन्दुली छोरी पढाउँदै, अलैँची बारी गोड्दै हर्केको सपनाको घर निर्माण गरिरहेकी छन् । चिटिक्कको घरमा दुई छोरीहरूसँग हर्केको प्रतीक्षामा बसेकी हुन्छिन् मुन्दुली । तर, एकदिन अचानक मलेसियाबाट खबर आउँछ– ‘दाइ बिरामी छ, हामी नेपाल पठाउँदै छौँ, लिन जानू होला।’ खबर सुनेपछि मुन्दुली उही दुई बर्ष अघि हर्के हिँडेको काभ्राबोटे ओरालोमा आँसु पुछ्दै झर्छिन्, तर हर्के बाकसभित्र लास बनेर आएको हुन्छ । यो कथाले वर्तमान परिस्थिति बोलेको छ; यो धेरै हर्के र मुन्दुलीहरूको साझा कथा हो ।
‘रत्नपार्कमा अल्झिएको मन’ कथामा मान्छेभित्रको अर्को मान्छे देखिन्छ । हङकङबाट हवाई यात्रा गरिरहेकी एक पात्र जति-जति बादलमाथि उड्दै जान्छिन्, उति-उति अघिल्लो पटक नेपाल जाँदा रत्नपार्कमा देखेको दृश्यले उनलाई झ्याप्प छोपेको महसुस हुन्छ । एक अबोध, अर्धनग्न बालक सानो रुमाल भन्न सुहाउने मैलो कपडामाथि सडकपेटीमा मस्त सुतिरहेको हुन्छ । अलि पर एउटी महिलालाई चोरीको आरोपमा पिटिरहेका हुन्छन् । उनी दुई हात जोडेर आफ्नो आत्मरक्षाको भिख मागिरहेकी हुन्छिन् । त्यो जम्मै दृश्य हेरिरहेकी कथावाचकलाई साथीले तानेर त्यो भीडबाट लैजान्छ । तर उनको मन मान्दैन ।
फेरि साथीलाई एक पटक हेर्न र केही पैसा सहयोग गर्न अनुरोध गरेपछि उनीहरू त्यही ठाउँमा फर्कन्छन्; तर त्यहाँ न त चोरीको आरोपमा पिटाई खाइरहेकी महिला हुन्छे, न त त्यो अबोध बालक नै । हुन्छ त केवल नजिकैको घण्टाघर र त्यहाँबाट निस्कने ‘टङ... टङ…’ को ध्वनि ! सायद त्यो घण्टाले पनि समवेदना प्रकट गरेको थियो होला । समवेदनाहीन भीडमा ती महिलालाई कुटपिटबाट समयमै बचाउन नसकेकोमा कथाकी पात्र पछुताउँछिन् र साथीले भनेको कुरा सम्झिन्छिन्, ‘ओए हिँड, यस्तो दृश्य त काठमाडौँमा सामान्य हो । नानी काखमा राखेर माग्नेदेखि नानी सडकमा सुताएर लुट्नेसम्मका मान्छे भेटिन्छन् ।’ देवता जस्तो देखिने मान्छेभित्र दानवका अनेक रूप लुकेका हुन्छन्। उनीहरूलाई यो रूपमा पुर्याउने कुन दानव होला? कथाकारले यहाँ समाज मात्र होइन, सिङ्गो देशमाथि प्रश्न उठाएकी छन् ।
अर्को कथा ‘ऊ मेरो बाबा होइन’ अहिलेको युगको ऐना हो । यो सामाजिक सञ्जाल र मोबाइलको समयको कथा हो । एक परिवारकी आमाले अर्को परिवारको बाबासँग नाजायज प्रेम सम्बन्ध राखेपछि उत्पन्न समस्यालाई यहाँ देखाइएको छ । रोहनकी आमा र सिर्जनाका बाबाबीच रहेको गोप्य सम्बन्धबाट एक अबोध बालकले लिएपछि उमेर पुगिसकेको ती आमाको छोरा रोहन छाँगाबाट खसेजस्तै हुन्छ र तत्काल सिर्जनासँग आफ्नो प्रेमको नाता तोड्छ ।
आफ्नी आमासँग नाजायज सम्बन्ध राख्ने पुरुष अरू कोही नभएर आफ्नै प्रेमिका सिर्जनाका बाबा हुन्छन् । यहाँ पाठकहरूलाई केही प्रश्न गर्न मन लाग्छ– यौन के हो ? प्रेम हो कि ? मनोरञ्जन हो कि ? आकर्षण हो कि माया हो ? हो चाहिँ के ? पौराणिक कथाहरूमा पनि समागम, षड्यन्त्र, जालझेल र धोकाका अनेक रूप धार्मिक ग्रन्थहरूमा देखाएका छन् । एक सुन्दर युवक एक कुरूप प्रौढ महिलातर्फ आकर्षित भइरहेको हुन्छ वा एक सुन्दर युवती प्रौढ पुरुषसँग आकर्षित हुन पुग्छे । सुन्दर पति वा सुन्दर पत्नी हुँदाहुँदै पनि किन हामी दोस्रो व्यक्तिप्रति आकर्षित हुन्छौँ ? सबैमा यस्ता अनुत्तरित प्रश्नहरू हुन सक्छन् ।
मैले यहाँ यो प्रसङ्ग किन उठाएको हुँ भने, ‘नर्मा अर्थात् कुमारी आमा’ रत्नपार्कका बच्चा र आमा, ‘ऊ मेरो बाबा होइन’ आदि कथाहरूमा जस्तै नर्मा पनि यौनको सिकार भएकी छे । हङकङमा कुमारी आमा बनाउने बकुल्लाहरू बर्गेलती भेटिन्छन् । हङकङको परिवेशलाई यस कथाले नजिकबाट स्पर्श गरेको छ । नर्मा दुई जिउकी भएपछि उसको प्रेमी भाग्छ । एक युवकको धोकाले गर्दा नर्माले हङकङबाट रोजगार मात्र गुमाएकी छैन, कुमारी आमा बनेर इन्डोनेसिया फर्कनुपरेको छ।
सुरुका दिनमा गर्भपतन गर्न अस्पताल पुगेकी नर्मा, दोस्रो दिन गर्भपात नगर्ने निर्णयमा पुग्छे । यहाँ जन्मनै नपाई हत्या हुन लागेको एक निर्दोष बच्चाको ज्यान जोगाएर सरमानकी श्रीमतीले कठिन परिस्थितिलाई सम्हालेकी छन्, उनी उदार भावकी देखिन्छिन् । कथाकार आफै पनि उदार भावको देखिनुहुन्छ, किनकि उहाँका सबै कथाहरू पढिरहँदा समस्यालाई एकदम सजिलो तरिकाले कथामार्फत समाधान गरिएको पाइन्छ । लेखकमा हुनुपर्ने एक सुन्दर पक्ष वा कला हो यो ।
यहाँ सयौँ नर्माहरूलाई कुमारी आमा बनाउने नेपाली सरमानहरूको कथा हो यो । कथा पढिरहँदा मलाई मेरै बिल्डिङको एउटा घटना सम्झना भयो। एकजना २१ वर्षकी इन्डोनेसियाली केटी, जो पाँच दिनकी सुत्केरी थिई, तीन दिनदेखि चिया मात्र खाएर बेहाल अवस्थामा खाना माग्न हाम्रो फ्ल्याटमा आएकी थिइन् । मेरी श्रीमतीले केही दिन उनको कोठामा (जहाँ सिमेन्टको भुइँमा एउटा पातलो डन्लप मात्र थियो) खाना र खाजा पुर्याइदिइन् । केटाको खोजी गर्दा भेटिएन ।
अहिलेको जस्तो समय हुन्थ्यो त सामाजिक सञ्जालमा फोटो राखेर खोजिन्थ्यो होला, तर त्यो समयमा यस्तो सुविधा थिएन । पछि हवाई टिकट र एक हजार डलर पकेट खर्च दिएर एक महिनाको नानीसहित उनी आफ्नो देश फर्किइन् । उनले आफूलाई धोका दिने प्रेमीप्रति एक शब्द पनि नराम्रो बोलिनन् । केटाप्रति हामीले आक्रोश पोख्दा पनि उनी चुपचाप आँसु झारेर बस्थिन्; सायद उनले आफ्नो प्रेमीलाई अत्यन्तै माया र विश्वास गरेकी थिइन् ।
नारी जुनसुकै देश र धर्मको होस्, यति ठुलो धोका पाउँदा पनि धोकेबाज प्रेमीप्रति दयाभाव राख्नु र रिस नउठ्नु अद्भुत समर्पण हो । कथाकी नर्माले जस्तै ती केटीले पनि हामी दुईजनालाई हिँड्ने बेलामा भगवान् भन्दै डाँको छोडेर रोएको सम्झना आउँछ । यी हरफहरू लेखिरहँदा मेरा आँखा रसाए । पृथ्वीको विभिन्न गोलार्द्धमा नर्माहरू अहिले के-के गर्दै होलान् ?
अर्को कथा ‘मलातीको आत्महत्या’ डायस्पोरिक जीवनमा आधारित छ । मलातीले आत्महत्या किन गरिन् भन्ने कुरा कथामा स्पष्ट नआए पनि यो एक महत्त्वाकांक्षी युवतीको कथा हो । अर्को कथा हाङ्ग्मा लामो र मार्मिक छ । यहाँ अन्तरजातीय विवाहपछि भोगिने कठिनाइहरू देखाउन खोजिएको छ । कथामा महिला पात्र हाङ्ग्माको नेपालदेखि फ्रान्ससम्मको सङ्घर्षलाई देखाइएको छ । यो कथामा केटा पात्र हर्केजस्तो बाकसमा आउँदैन, बरु आफ्नो श्रीमान्को शव लिन हाङ्ग्मा आफैँ फ्रान्स पुग्छिन् ।
तर, जब अदालतले ‘तिमी श्लोककी पत्नी होइनौ, श्लोककी पत्नी यी हुन्’ भन्दै एक विदेशी महिला देखाइदिन्छ, त्यसपछिको अवस्थामा एक नेपाली नारीले के-कस्ता कदम चाल्छिन् भन्ने कुरा कथामार्फत भनिएको छ । यो कथाले पनि हामी नेपालीहरूले रोजगारीका निमित्त संसारभर कस्ता-कस्ता समस्या भोगिरहेका हुन्छौँ भन्ने सन्देश दिएको छ । हाङ्ग्मा वर्तमान नेपालीहरूको अवस्थाको जीवन्त चित्र हो ।
माथिका कथाहरू जस्तै ‘नियतिको लीला’ पनि वियोगान्त छ । गाउँबाट मधेश, मधेशबाट धरान छिरेकी उषालाई सहरी जीवनमा मिसिन निकै समय लाग्छ । शहरमा पढ्दै जाँदा उनी प्रेममा पर्छिन् । पहिलो पटक गैर-पुरुषको नजिक हुँदा महसुस गरिएको सुन्दर क्षणको चित्रण यहाँ छ । नचाहँदा-नचाहँदै पनि परिवारले आफ्नै प्रेमीको दाइसँग सामाजिक परम्पराअनुसार मागी विवाह गरिदिएपछि उषा र किरण परिवारभित्रै रहेर पनि अलग हुन्छन् । उषाका श्रीमान् देशको सेवामा लागेका एक सैनिक जवान हुन्छन्, जसको माओवादीको एम्बुसमा परी हत्या हुन्छ । यो कथाले माओवादी द्वन्द्वकालमा कति परिवारहरूको विखण्डन भएको थियो भन्ने कुरा देखाउँछ ।
‘बेहुली सपना’ एक युवतीको मनोविज्ञानमा आधारित उत्कृष्ट कथा हो । एक अविवाहित युवतीभित्र अनेक विचार र सोचहरू हाबी हुन सक्छन् भन्ने कुरा यहाँ देखाइएको छ । लिम्बू संस्कृतिमा आधारित ‘यसरी अस्तायो एउटा तारा’ कथामा लिम्बू भाषाका थुप्रै रैथाने शब्दहरू आएका छन्, जसले कथालाई मौलिक र सुन्दर बनाएको छ । यो कथाले पुरानो लिम्बू विवाह संस्कारलाई सरलक्क उतारेको छ ।
‘हरियो कुर्ता’ बालमनोविज्ञानमा आधारित कथा हो । साना बालबालिकाहरूले शिक्षक अथवा आफूभन्दा ठुलाको अनुसरण वा अनुकरण गर्ने चाहना राख्नु अस्वाभाविक होइन, जसलाई अभिभावकहरूले प्रायः नजरअन्दाज गरिदिन्छन् । कथा ‘ममताविहीन’मा हङकङमा परिवार विखण्डन भएपछि छोराछोरीमा परेको नकारात्मक असरलाई उजागर गरिएको छ । एउटी सानी बालिकाले तीन वर्षपछि हङकङ आउँदा आमा-बाबालाई साथै नदेखेपछि कस्तो महसुस गर्छिन्, कथामार्फत निकै मार्मिक ढङ्गले देखाइएको छ ।
शीर्षकअनुसार सबै कथाहरूले न्याय पाएका छन् । त्यस्तै थुप्रै कथाहरू छन् यहाँ; ‘सैनिक जीवन’, ‘पश्चात्तापले जलेको मन’ सामाजिक कथाहरू हुन् र सबै प्रेरणादायी छन् । ‘मङ्सिरे’ कथा ग्रामीण जीवनको विषयमा लेखिएको उत्कृष्ट कथा हो । गाउँका रीतिरिवाज र संस्कारहरू बिस्तारै भत्किँदै गएका छन् भन्ने कुरालाई कलात्मक ढङ्गले लेखिएको छ । कथा सरल देखिए पनि यसले उठाएका प्रश्नहरू गम्भीर छन् । ‘ढलेको घर र जलेको सपना’मा एक महिला घर-परिवारका निम्ति कति महत्त्वपूर्ण हुन्छिन् भन्ने कुरा देखाइएको छ ।
‘जब मेटिन्छ छोरीको नाम’ हाम्रो समाजमा छोरीप्रति हेर्ने दृष्टिकोण र छोरीलाई गर्भमै हत्या गर्ने कुरीतिप्रति सङ्केतिक विद्रोह हो । एक आमाले गर्भभित्र पनि छोरीको सुरक्षाप्रति चिन्ता लिइरहेकी हुन्छिन् । हाम्रो समाज छोरीप्रति कति निर्दयी छ भन्ने कुरोले आमाहरूलाई सँधै चिन्त्तित बनाइरहेको हुन्छ ।
अन्तिम पृष्ठतिर एउटा कथा छ, ‘भाँडाको समाधिमा क्याप्टेन साल्लु’ यो कथाले अनेक प्रश्न उठाएको छ । क्याप्टेन साल्लुले विदेशमा लामो नोकरी गरेर नेपालमा घरजग्गा, पेन्सन आदि जम्मै जोडे पनि फेरि छोराछोरीको उज्ज्वल भविष्यका निम्ति विदेशिन बाध्य हुन्छ । कथाले ‘जति पढे-लेखे पनि वा कमाए पनि हामी लाहुरे परिवारका निमित्त देशमा कुनै अवसर नभएकै हो त?’ भन्ने प्रश्न गर्छ ।
उनले ३० वर्ष विदेशमा कमाएको सम्पत्ति र सीप किन आफ्नै देशमा उपभोग गर्न सकेनन् ? किन त्यस्तो वातावरण भएन ? प्रत्येक लाहुरेको सपना हुन्छ– पेन्सनपछि नेपालमा बस्ने, कृषिदेखि लिएर ब्यापार ब्यबसाय गरेर बस्ने र देशमा सम्पत्ति भित्र्याउने । तर केही वर्षपछि उनीहरू सारा सपना भत्काएर पुनः विदेश हिँड्छन् । किन उनीहरूको पैसा र सीप राज्यले सदुपयोग गर्न सक्दैन ?
उनीहरू बस्ने वातावरण कहिले निर्माण हुन्छ ? अहिले नेपाल बस्ने सपना तोड्दै घरजग्गा बेचेर बेलायत पलायन भइरहेका छन् लाहुरे परिवारहरू। तर राज्यपक्ष आँखा छोपेर बसेको देखिन्छ, उनीहरू प्रति कुनै ध्यान दिएको देखिँदैन । किनकि यहाँ लाहुरेले मात्र देश छाडेका छैनन्, उनीहरूसँगै पैसा र दक्ष जनशक्ति पनि विदेशिँदै छन् । हजारौँ-लाखौँ नेपालीहरू बेलायतमा 'भाँडाको समाधि' मा समाधिस्थ भइरहेका छन् । क्याप्टेन साल्लुमार्फत जानु काम्बाङ लिम्बूले हामीलाई एउटा जीवन्त उदाहरण मात्र दिन खोज्नुभएको हो ।
‘हजुरबा र युद्ध’ कथा पढ्दै गर्दा कथाकार स्वयं विश्वयुद्धका योद्धा परिवारको सदस्य भएकाले कथा काल्पनिक नभएर सत्य घटनामा आधारित हो कि जस्तो लाग्छ । किनकि मैले पनि कथाकारले जस्तै बा-हजुरबाहरूको युद्धकथा आफ्नो ‘किवाहाड’ उपन्यासमा लेखेको छु, जुन कथाहरू सानो छँदा मैले बा-हजुरबाहरूबाट सुनेको थिएँ । कथाकार र मेरो उमेर समूहले बाल्यकालमा बा-हजुरबाहरूबाट युद्धका कथाहरू खुब सुन्ने चलन थियो । जुन अहिले मेटिएर गयो । ‘हजुरबा र युद्ध’को कथा पुस्तकमा राखेर कथाकारले अलिखित इतिहासको एउटा पाटोलाई पुस्तकबद्ध गर्नुभएको छ । ‘पुच्छरमा खोलाले छोरा फिर्ता दिएन’ अर्को एउटा वियोगान्त कथा हो ।
यो पुस्तकको समीक्षा वा समालोचना होइन, फगत एक पाठकीय टिपोट मात्र हो । यति भन्दै गर्दा फलानो-ढिस्कानोको जस्तो कृति भन्दै खलील जिब्रान, रवीन्द्रनाथ ठाकुर, माया ठाकुरी, विन्दिया सुब्बा आदि राष्ट्रिय-अन्तर्राष्ट्रिय सिद्धहस्त कथाकारहरूका कथाहरूसँग यसलाई जोड्न सक्थेँ होला । तर कुनै पनि पुस्तकलाई दोस्रो पुस्तकसँग तुलनात्मक समीक्षा गर्दा दुवै पुस्तकको सिर्जनाको हत्या हुन्छ जस्तो लाग्छ । यो प्रवृत्ति राम्रो होइन । वरिष्ठ समालोचकज्यूहरूलाई यहीँबाट अनुरोध छ– कुनै पनि कृतिको तुलना गर्दागर्दै समीक्षा गरिरहेको मूल पुस्तक ओझेलमा परिरहेको हुन्छ । समीक्षा गर्दा पुस्तकभित्र रहेका विषयलाई मात्र केन्द्रमा राखिदिए त्यो बढी पाठकमैत्री हुने थियो ।
समग्रमा, यी कथाहरू महिलाहरूको सङ्घर्ष, दुःख, धोका र यौन शोषणवरिपरि घुमेका छन् । सामाजिक यथार्थवादमा हिँड्दा नारीहरूले प्रेमी वा पतिबाट उत्पीडन खेप्नुपरेको छ । गाउँ, शहर हुँदै युरोपसम्म उही धोका, उही पीडा बोकेर हिँडिरहेको ‘नउघ्रेको जून’ को अवस्थालाई पुस्तकमा विस्तारमा उल्लेख गरिएको छ । नारी मुक्तिका निम्ति नारीहरू आफै आर्थिक र सामाजिक चेतना बोकेर उठ्नुपर्छ भन्ने कथाकारको ठम्याइ छ । केही कथाहरूमा पूर्ण आञ्चलिकता छ, जहाँ गाउँका अलैँचीबारीदेखि लोकसंस्कृतिहरू अटाएका छन् । लोकभाषा, ग्रामीण जीवन, शहर र विदेशको जीवनशैली सबै अटाएकाले कथाहरू रुचिअनुसार छानी-छानी पढ्न पाइन्छ ।
समग्रमा, जानु काम्बाङको नउघ्रेको जून केवल एउटा कथा सङ्ग्रह मात्र नभएर नारीवादी चेतना, डायस्पोरिक पीडा, र नेपाली समाजको जीवन्त दस्तावेज हो भन्ने कुरा यस टिपोटबाट स्पष्ट हुन्छ भन्नेमा बिश्वस्त छु । केही कथाहरूमा ‘पुरुष फोबिया’को आभास र भाषिक कमजोरी भए तापनि यसको शैली र विषयवस्तु उत्कृष्ट र पठनीय रहेको छ ।
खोटाङ (हाल: हङकङ)