पोखरा । स्वर्गीय डा चन्द्रप्रसाद गुरुङको चर्चित कृति ‘केयरिङ फर द अन्नपूर्ण’को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ सार्वजनिक भएको छ ।
विश्व वातावरण दिवसको अवसर पारेर पोखरास्थित अन्नपूर्ण संग्रहालयमा आयोजित समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष एवं पूर्वसांसद मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, एक्यापका प्रमुख डा. रविन कडरिया, संरक्षणविद् डम्मरकुमारी गुरुङ र चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
२०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा डा. गुरुङसहित, डा. हर्क गुरुङ, मिङ्मा नोर्बु शेर्पा लगायत २४ संरक्षणविद्को मृत्यु भएको थियो ।
उक्त पुस्तकको केही भाग उनी आफैले लेखेका थिए । बाँकी अंश अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का सहकर्मीबाट योगदान गर्ने योजना गरिएको थियो तर उनको मृत्यु पछि यो साकार हुन सकेको थिएन । पछि एक्यापमा काम गर्नेहरुको विज्ञताका आधारमा तयार पारिएको थियो ।
त्यही अधुरो पाण्डुलिपिलाई समेटेर पहिले अंग्रेजीमा प्रकाशन भएको यो कृतिलाई यस वर्ष साहित्यकार तीर्थ गुरुङले नेपालीमा अनुवाद गरेका हुन् ।
जसलाई चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले एक्यापको आर्थिक सहयोगमा प्रकाशनमा ल्याएको हो । अंग्रेजीमा लेखिएको केयरिङ फर द अन्नपूर्ण’ पुस्तक २०८१ को तमु पुस्तक पनि हो ।