लन्डन । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) ले विश्वप्रसिद्ध आरोही स्वर्गीय निर्मल पुर्जा एमबीई (निम्सदाइ) को नेपाली वंशजको नागरिकता फिर्ता गर्न माग गरेको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै सीएनसीबीजीले निम्सदाइको नागरिकता फिर्ता गरी राष्ट्रिय विभूति घोषणा गर्न नेपाल सरकारसँग माग गरेको हो । उनलाई नेपाल सरकारले नै एनआरएन बन्न बाध्य पारेको सीएनसीबीजीको दाबी छ ।
‘निम्सदाइ विश्वसामु नेपालको शिर उच्च बनाउने एक गोर्खा तथा विश्वप्रसिद्ध आरोही हुन् । तर नेपाल सरकारले आफ्नै निर्देशनमा बेलायती सेनामा सेवा गर्न पठाएका गोर्खाहरूले बेलायतको सम्मानार्थ नागरिकता लिएबापत अघि दिएको सहमतिको धज्जी उडाउँदै वंशजको नागरिकता त्यागी NRN बन्न बाध्य पारिएको एउटा उदाहरण पनि हुन्,’ उसले भनेको छ, ‘हरण गरिएको वंशजको नेपाली नागरिकता सम्मानका साथ फिर्ता गरियोस् र उहाँलाई राष्ट्रिय विभूति घोषणा गरियोस्।’
सीएनसीबीजीले यही मागसहित विश्व आदिवासी जनजाति दिवसको अवसरमा र्याली गर्ने जनाएको छ । नेपाल आदिवासी जनजाति बेलायतले आगामी ८ अगस्टमा उक्त दिवस मनाउँदै छ ।
यो संस्थाले लामो समयदेखि गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरताको मागलाई लिएर सरकारको ढोका ढकढक्याइरहेको छ । मूलवासीका अधिकार के-के हुन् ? उनीहरू कसरी अन्यायमा परेका छन् र आफ्नो अधिकार प्राप्त गर्न कसरी अगाडि बढ्न सक्छन् ? भनेर जनचेतना फैलाउने योजनासहित दिवस मनाउन लागिएको हो ।
बेलायतमा महासंघले मनाउने आदिवासी जनजाति दिवसमा आदिवासी जनजाति समुदायको चासो र सहभागिता कम रहने गरेको भन्दै सीएनसीबीजीले दिवसमा उपस्थित हुन अनुरोध गरेको छ ।
गर्खाहरूले आफ्ना सन्तान कस्तो अवस्था र वातावरणबाट गुज्रिरहेका छन् भन्ने कुरालाई बेवास्ता गर्दै उनीहरूको भविष्य र अधिकारका कुरा बिर्सिरहेको भन्दै सीएनसीबीजीले चिन्ता व्यक्त गरेको छ ।
‘हामी सबै आ-आफ्नो जिल्ला, गाउँ, टोल, नम्बरी भेला, पल्टनको भेला, सांस्कृतिक साँझ आदि कार्यक्रमहरूमा रमाइरहेका छौँ । त्यस्ता कार्यक्रम र फजुल खर्च गर्न छोडेर आफ्ना सन्ततिको भविष्यतिर पनि यसो ध्यान दिने गरौँ कि,’ सीएनसीबीजीले भनेको छ ।