लन्डन । स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ कार्यक्रम सम्पन्न भएको छ ।
फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा शनिबार कार्यक्रम सम्पन्न भएको हो । समाजकी अध्यक्ष रूपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आले एमभीओ एमबीईको प्रमुख आतिथ्य रहेको थियो ।
यस्तै, रिडिङको ब्याटल वार्डकी काउन्सिलर प्रतिमा गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर योज तमु लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम संयोजक भने उपाध्यक्ष भीमबहादुर गुरुङ रहेका थिए ।
यसैगरी, तमु धीं यूके, प्हे ल्यु संघ यूके, मगर संघ यूकेलगायत स्याङ्जा जिल्लाभित्रका १२ वटा संस्थाका अधिकांश अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो । बेलायतस्थित स्याङजावासीको बाक्लो उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण र सफल बनाएको थियो ।


कार्यक्रममा स्याङ्जाकी चेली तथा नृत्य कलाकार आस्मिता रानाको आकर्षक नृत्य प्रस्तुति, एलेक्स थापा, निता गुरुङ तथा नेपालकी चर्चित लोकदोहोरी गायिका शर्मिला गुरुङको सांगीतिक प्रस्तुतीले सहभागीहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो । यसले बेलायतमा रहेका स्याङजावासी समुदायका लागि कार्यक्रमलाई अविस्मरणीय बनाएको बताइएको छ ।
कार्यक्रमको सुरुवातमा समाजका अध्यक्ष गुरुङ, आमा अध्यक्ष पार्वती गुरुङ तथा कार्य समितिलाई, भेटघाट भव्यताका साथ समापन गरेकोमा, समाजका संरक्षक मेजर कुमार गुरुङ एमभीओले विशेष धन्यवाद दिएका थिए । साथै उनले उपस्थित अतिथिगण तथा स्याङ्जावासीलाई स्वागत गर्दै संस्थाको स्थापना, उद्देश्य र भावी योजनाबारे जानकारी गराए ।
उनले सन् २०२० मा स्थापना भएको स्याङ्जा समाज यूकेको मुख्य उद्देश्य जैविक तथा प्राकृतिक प्रकोपबाट प्रभावित जिल्लावासीलाई आपत्कालीन सहयोग पुर्याउनु रहेको स्पष्ट पारे । भूकम्प, बाढी, पहिरो, कोभिड, डेंगु, हैजा, जापानी इन्सेफ्लाइटिस, स्क्रब टाइफस जस्ता जैविक तथा प्राकृतिक प्रकोपका बेला जिल्लावासीलाई राहत, स्वास्थ्य सेवा तथा आवश्यक परे अस्थायी आवास व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य समाजले लिएको छ ।
दीर्घकालीन रूपमा आधुनिक कृषि विकास, शिक्षा प्रवर्द्धन, विद्यालयबीच अन्तर्राष्ट्रिय सहकार्य तथा विपन्न बालबालिका र ज्येष्ठ नागरिकको सहयोगमा समाजले विशेष ध्यान दिने जनाएको छ ।
कार्यक्रममा समाजले हालसम्म हासिल गरेका उपलब्धिहरू पनि प्रस्तुत गरिएको थियो । कोभिड–१९ महामारीका बेला जिल्लाका ६ वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको, कोल्मामा निर्माणाधीन जिल्लाकै पहिलो गुम्बालाई स्याङजावासीहरुले सहयोग गरिएको तथा हालै तमु धीं यूकेद्वारा आयोजित प्रतिष्ठित गोर्खा कप र भलिबल प्रतियोगितामा विजयी हुँदै नयाँ कीर्तिमान कायम गरिएको जानकारी दिइयो ।
-1782660642.jpeg)
त्यसैगरी, ब्रिगेड अफ गोर्खाजको इतिहासमा हालसम्म नौ जना मात्र लेफ्टिनेन्ट कर्नेल पुगेका व्यक्तिमध्ये तीन जना स्याङ्जाका रहेको र ती तीनै जना कार्यक्रममा उपस्थित रहेको जानकारीले सहभागीहरूलाई गौरवान्वित बनाएको थियो ।
संस्थाले आगामी दिनमा विधानलाई पूर्णता दिने, च्यारिटी दर्ता प्रक्रिया अगाडि बढाउने, सदस्यता विस्तार गर्ने, बेलायतस्थित स्याङ्जावासीका लागी सामाजिक सेवा तथा कल्याणकारी कार्यक्रम सञ्चालन गर्ने र जिल्लाभित्रका विभिन्न संस्थासँग दीर्घकालीन सहकार्य बढाउने योजना सार्वजनिक गरेको छ ।
मेजर कुमार गुरुङले संस्थाको प्रारम्भिक यात्रामा विभिन्न चुनौती र अवरोधहरू सामना गर्नुपरेको स्मरण गर्दै समुदायको एकता, सकारात्मक सोच र निस्वार्थ सेवाभावले नै संस्थालाई आजको अवस्थामा पुर्याएको बताए ।
उनले सामाजिक संस्थाहरूलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने सुझाव दिँदै नेतृत्व हस्तान्तरणको संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष गुरुङले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका व्यक्तिलाई फेटा, खादा, फूल तथा पछ्यौरीद्वारा सम्मान गरिन् । कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कार्यसमिति, सहयोगी हात, अतिथि तथा स्याङ्जावासी समुदायप्रति आभार व्यक्त गर्दै आफ्नो जिल्ला र समुदायप्रति गर्वका साथ एकताबद्ध भएर अघि बढ्न आग्रहसहित कार्यक्रम समापन गरिन् ।