बेलायत । तमु धीँ यूकेका अध्यक्ष जुम काजी गुरुङले संस्थाले आगामी दिनमा आयोजना गर्न लागेका विभिन्न सामाजिक, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूको कार्यतालिका सार्वजनिक गरेका छन्।
हालै सम्पन्न २४औं गोर्खा कपको समीक्षा गर्दै उनले अब संस्थाको ध्यान रजत महोत्सव अर्थात् २५औं संस्करणको तयारीमा केन्द्रित भएको जानकारी दिए। यस वर्षको गोर्खा कपमा कूल ५७ टोलीले सहभागिता जनाएका थिए, जसमा १६ भेट्रान, २ महिला र ४० मुख्य टोलीहरू थिए। कार्यक्रमको व्यवस्थापनबारे चर्चा गर्दै अध्यक्ष गुरुङले भने, "हामीले यसपटक दर्शकको सुविधाका लागि ठूला डिजिटल स्क्रिन, बालबालिकाका लागि मनोरञ्जनका साधन र प्रभावकारी ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिएका थियौं, जसले कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन मद्दत गर्यो।"
संस्थाको अर्को महत्त्वपूर्ण कार्यक्रम '१७औं नेपाली मेला' आगामी अगस्ट ३० तारिखमा आयोजना हुँदैछ। बेलायतस्थित नेपाली दूतावास र विभिन्न संघसंस्थाहरूको समन्वयमा हुने यस मेलाले नेपाली कला र संस्कृतिलाई प्रवासमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। मेलाको तयारीबारे गुरुङले भने, "नेपाली मेला हाम्रो पहिचानको उत्सव हो। यसलाई थप प्रभावकारी बनाउन हामीले जुलाई १० मा दूतावाससँग विशेष बैठक तय गरेका छौं।" खेलकुद र संस्कृति बाहेक तमु धिँ यूके परोपकारी कार्यमा पनि उत्तिकै सक्रिय रहेको उनले बताए।
आगामी जुलाई १८ मा क्यान्सर अनुसन्धानका लागि गिल्डफोर्डमा 'रेस फर लाइफ' आयोजना गरिँदैछ। आमा समूहको नेतृत्वमा हुने यस कार्यक्रमबारे उनले जानकारी दिए, "गत वर्ष हामीले यस रेस फर लाईबाट करिब ६ हजार पाउण्ड सहयोग सङ्कलन गरेका थियौं। यस वर्ष पनि क्यान्सर रिसर्चलाई सहयोग गर्ने हाम्रो लक्ष्य छ।" अध्यक्ष गुरुङले आगामी सेप्टेम्बरमा १०० किलोमिटरको 'ट्रेल वाकर' पदयात्रा, अक्टोबर १७ मा 'लाइफ मेम्बर डिनर नाइट' र डिसेम्बर २६ (बक्सिङ डे) मा ल्होसार पर्व भव्य रूपमा मनाउने योजना रहेको बताए।

व्यक्तिगत व्यस्तता र संस्थाको जिम्मेवारीलाई सन्तुलित रूपमा अगाडि बढाइरहेका उनले आफ्नो जीवनशैलीका बारेमा पनि केही कुराहरू जानकारी गराए । बिहान सबेरै उठेर व्यायाम गर्ने र फुर्सदको समयमा अध्ययनमा रुचि राख्ने उनले बताए। "मलाई अध्ययनमा विशेष चासो छ। नयाँ किताबहरू र शब्दकोशहरूको अध्ययनले मलाई ऊर्जा र नयाँ ज्ञान दिन्छ," उनले आफ्नो रुचिको बारेमा बताए।
आफ्नो कार्यकालको डेढ वर्षको अवधिमा समुदायबाट प्राप्त सकारात्मक सहयोगप्रति आभार व्यक्त गर्दै उनले भने, "अहिलेसम्मका कार्यक्रमहरू सफल हुनुमा सम्पूर्ण कार्यसमिति, सहयोगी, खेलाडी र दर्शकहरूको ठूलो हात छ। सबैको हौसलाले गर्दा नै मलाई काम गर्ने थप प्रेरणा मिलेको छ।" अध्यक्ष गुरुङले आगामी दिनमा पनि सबै पक्षको साथ लिएर तमु धिँ यूकेलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।