बेलायत । बेलायतको अल्डरसटमा १३ जुन २०२६ मा नवौं अल्डरसट भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। अल्डरसट भलिबल क्लबको आयोजनामा भएको उक्त प्रतियोगितामा पुरुषतर्फ स्याङ्जा भलिबल टिम र महिलातर्फ मोना लेडिज टिमले उपाधि हात पारेका छन् ।
वेलस्ली स्पोर्ट्स ग्राउण्डमा बिहान ९ बजेदेखि सुरु भएको प्रतियोगितामा कुल १४ पुरुष र ८ महिला टिमको सहभागिता रहेको थियो । लिग चरणदेखि नकआउट चरणका खेल भएका थिए । यस प्रतियोगितामा पुरुषतर्फको फाइनलमा आयोजक अल्डरसट भलिबल टिमलाई हराउँदै स्याङ्जा विजयी भएको हो । विजेता स्याङ्जाले १६०० पाउण्ड र उपविजेता आयोजकले ११०० पाउण्ड नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी, महिलातर्फ विन्चेस्टरलाई पराजित गर्दै मोना लेडिज टिम प्रथम हुन सफल भयो । महिला विजेताले ९०० पाउण्ड र उपविजेताले ५५० पाउण्ड नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै एलजी एसोशियसनले २७ जुनमा आयोजना हुन लागेको एलजी फेष्टबाट उत्कृष्ट खेलाडी गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि क्लबका संरक्षक शेरबहादुर सुनार र विशेष अतिथिहरु रसमोर बरो काउन्सिलका मेयर पिटर कोलम, तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङ,आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, काउन्सिलहरु, तमु धीं यूकेका पूर्वअध्यक्षहरु, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष लिला सेलिङ माबो र सल्लाहकारसहित विभिन्न संघसंस्थाका अध्यक्षहरु र व्यावसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका पूर्व खेलाडीहरू मञ्जु गुरुङ, लालबहादुर गुरुङ, ओम पुन र रमिला गुरुङलाई विशेष सम्मान गरिएको थियो ।

प्रतियोगिताको आकर्षणका रूपमा नेपालबाट आएकी चर्चित मोडल तथा डान्सर सरिश्मा मगरले नृत्य प्रस्तुत गरिएको थियो । स्थानीय व्यवसायीहरू र सहयोगी हातहरूको सहयोगमा सम्पन्न यस कार्यक्रमलाई अल्डरसट क्षेत्रकै ठूलो खेलकुद उत्सवको रूपमा लिइएको छ । समापनका क्रममा क्लबका संरक्षक शेरबहादुर सुनारले कार्यक्रम भव्य रुपमा सफल बनाएकोमा आयोजक र उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।कार्यक्रमको अन्त्यमा अध्यक्ष बिमल गुरुङले स्पोन्सर, खेलाडी, खेलप्रेमी र कार्यक्रममा उपस्थित सम्पूर्णलई धन्यवाद दिदैं आगामी वर्ष जुनमा १० औं संस्करण अझ भव्य रूपमा आयोजना गर्ने घोषणा गर्दै सबै सहयोगी तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
डा. विशाल गुरुङले सञ्चालनमा भएको कार्यक्रमको फोटो भिडियो गोर्खा मिडियाले गरेको थियो ।







