बेलायत । राङभाङ समाज यूकेले आफ्नो वार्षिक भेटघाट तथा बिबि क्यु (BBQ) कार्यक्रम एक विशेष समारोहका साथ सम्पन्न गरेको छ । बेलायतको ग्रेन्ज स्कुलमा आयोजित उक्त कार्यक्रममा समाजका सदस्यहरू, शुभचिन्तक तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमको सुरुआतमा अध्यक्ष शारदा गुरुङले कार्यक्रममा उपस्थित भएकोमा धन्यवाद् ज्ञापन गरेका थिए । त्यसपछि एक वर्षभरमा मृत्यू भएकाहरुको सम्झनामा एक मिनेट मौन धारण गरी कार्यक्रम अघि बढाइएको समाजका अध्यक्ष शारदा गुरुङले जानकारी दिए । कार्यक्रममा अध्यक्ष शारदा गुरुङ र संस्थापक अध्यक्ष राजबहादुर गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वल गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
राङभाङ समाजले पहिलोपटक प्रतिष्ठित 'गोर्खा कप' फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको खुसीयालीमा यसपटकको भेटघाटलाई विजय उत्सवका रूपमा समेत मनाइएको थियो । सोही ऐतिहासिक उपलब्धिप्रति गौरव गर्दै कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा केक काटेर खुसी साटेका थिए । सो अवसरमा विजेता खेलाडीहरू, समाजका तर्फबाट ब्रिटिस आर्मीमा पदोन्नति भएका सदस्यहरू र नेपालबाट बेलायत भ्रमणमा आएका आफन्तहरूलाई पनि आदरपूर्वक सम्मान गरियो ।
समाजका अध्यक्ष शारदा गुरुङको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा संस्थापक अध्यक्ष राजबहादुर गुरुङ र महासचिव खिमबहादुर गुरुङले संस्थाले गरेका प्रगति र आगामी लक्ष्यबारे चर्चा गरेका थिए । कार्यक्रममा समाजका अध्यक्ष शारदा गुरुङलाई सहारा यूकेको अध्यक्ष चयन भएकोमा र 'गोर्खा कप' फुटबल राङभाङ समाज यूकेलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेकाले उनको दम्पतिलाईलाई दोसल्ला, फेटा, पछ्यौरी, माला र खादा लगाएर सम्मान गरिएको थियो ।
भेटघाटलाई थप मनोरञ्जनात्मक बनाउन नेपालबाट आएका चर्चित कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । लोकप्रिय लोक तथा दोहोरी गायिका सबिना बुढा मगर र चर्चित मोडल एवं डान्सर अस्मिता राना मगरले आफ्ना गीत र नृत्यमार्फत उपस्थित सबैलाई झुमाएका थिए । त्यस्तै, स्थानीय कलाकारहरूको प्रस्तुतिले पनि कार्यक्रममा थप रौनक थपेको थियो ।
कार्यक्रमलाई व्यवस्थित बनाउन सांस्कृतिक सचिव चन्दा थापा मगर र अमृत गुरुङ योगीले सक्रिय भूमिका निभाएका थिए । खानपानका लागि माइतीघर रेस्टुरेन्ट र संगीतको पाटोमा कृष्टल भिजनले सहयोग पुर्याएको थियो । कार्यक्रमको फोटो भिडियो तेज गुरुङ र गोर्खा मिडियाले गरेको थियो ।




