बेलायत । तनहुँ समाज यूकेले आफ्नो १८ औं वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रमको भव्य आयोजना गर्ने भएको छ। "संस्कृति, भाषा र पहिचान: हाम्रो गौरव, हाम्रो अभियान" भन्ने मूल नाराका साथ आगामी ८ अगस्ट २०२६, शनिबारका दिन अल्डरसटस्थित एल्डरवुड लेजर सेन्टरमा यो कार्यक्रम हुन लागेको आयोजकले बताएको छ ।
दिउँसो १२ बजेदेखि राति १० बजेसम्म चल्ने यस विशेष समारोहमा नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ। कार्यक्रममा वरिष्ठ लोक गायक प्रेमराजा महत, कौरा किङ दुर्गा गुरुङ, लोक दोहोरी गायिका शर्मिला गुरुङ र रूपी सिन्जाली मगरले सहभागीहरूलाई सांगीतिक मनोरञ्जन दिलाउनेछन्। साथै, तनहुँको पहिचान बोकेको लाइभ कौरा र चुड्काका साथै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने जानकारी आयोजकले दिएको छ ।
सांस्कृतिक प्रस्तुति मात्र नभई कार्यक्रममा सहभागीहरूका लागि सुनचाँदीका गहना पुरस्कार सहितको राफल ड्र र स्वादिष्ट नेपाली खानाका विभिन्न परिकारहरू मुख्य आकर्षणको रूपमा रहनेछन् । यसै अवसरमा संस्थाले उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरू, नयाँ आजीवन सदस्यहरू र विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा प्रशंसापत्र वितरण गर्ने कार्यक्रम तय भएको आयोजकले बताए।
कार्यक्रममा प्रवेशका लागि वयस्कहरूलाई २५ पाउण्ड र ६ देखि १२ वर्षका बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई २० पाउण्डको टिकट दर तोकिएको छ। ६ वर्षमुनिका बालबालिकालाई भने प्रवेश निःशुल्क गरिएको छ र टिकट शुल्कमा नै स्टार्टर र मुख्य खाना समावेश गरिएको छ। कार्यक्रमलाई सफल पार्न र थप जानकारी लिनका लागि संस्थाका अध्यक्ष, संयोजक, महासचिव र कोषाध्यक्षलाई सम्पर्क गर्न सकिने जानकारी दिईएको छ ।