ब्रेकन, वेल्स | ७ जुन २०२६ वेल्सको ऐतिहासिक शहर ब्रेकनमा ७ जुन २०२६ का दिन ४१औँ वार्षिक गोर्खा फ्रिडम परेड अत्यन्त भव्य, गरिमामय तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।
यस विशेष अवसरमा सेवारत तथा अवकाशप्राप्त गोर्खा सैनिकहरू, तिनका परिवार, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय समुदाय तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोर्खा फ्रिडम परेड गोर्खा समुदायको गौरव, समर्पण, साहस र बेलायत तथा नेपालबीचको ऐतिहासिक मित्रताको प्रतीकका रूपमा प्रत्येक वर्ष मनाइँदै आएको एक महत्वपूर्ण कार्यक्रम हो। यस वर्षको परेडले ब्रेकनमा गोर्खाहरूको आगमनको ५२औँ वर्ष तथा फ्रिडम परेडको ४१औँ वार्षिकोत्सवलाई विशेष रूपमा स्मरण गरेको छ।
ब्रेकन र धम्पुसबीच रहेको विशेष भगिनी सम्बन्ध अर्थात ट्विनिङले पनि यस वर्षको कार्यक्रममा विशेष भूमिका खेलेको थियो। सात वर्षदेखि कायम रहेको यस मैत्रीपूर्ण सम्बन्धले दुई समुदायबीच सांस्कृतिक आदानप्रदान, पारस्परिक सम्मान तथा मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको छ। यस वर्षको फ्रिडम परेडमा धम्पुस र ब्रेकनबीच रहेको ऐतिहासिक तथा विशेष ट्विनिङ सम्बन्ध झन प्रस्ट रूपमा झल्किएको थियो।

दुई समुदायबीच सात वर्षदेखि कायम रहेको मित्रता, पारस्परिक सम्मान तथा सांस्कृतिक आदानप्रदानले नेपाल र वेल्सका जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको छ। धम्पुस र ब्रेकनबीचको यो सम्बन्ध गोर्खाहरूको योगदान, साझा इतिहास तथा भावी पुस्ताहरूका लागि प्रेरणादायी उदाहरणका रूपमा स्थापित भएको छ।
कार्यक्रम निर्धारित समय अनुसार सुरु भएको थियो। यस अवसरमा डेपुटी लर्ड लेफ्टिनेन्ट, ब्रेकनकी मेयर काउन्सिलर सियान ड्रिनन, नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडी, ब्रिगेड अफ गोर्खाजका प्रतिनिधि लेफ्टिनेन्ट कर्णेल एन ल्वोइड, गोर्खा विंग मण्डलेका अफिसर कमाण्डिङ मेजर राजु दुरा तथा अन्य वरिष्ठ सैनिक एवं नागरिक अधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो।
उनीहरुको उपस्थितिले कार्यक्रमको महत्व र गौरवलाई अझ उचाइ प्रदान गरेको थियो। परेडको नेतृत्व परेड कमाण्डर क्याप्टेन बहादुर बुढा मगर (आरजीआर) ले गरेका थिए । उनको कुशल नेतृत्वमा सम्पन्न भएको परेडले गोर्खा सैनिकहरूको अनुशासन, व्यावसायिकता र गौरवशाली परम्परालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको थियो। परेड सर्जेन्ट मेजरको जिम्मेवारी वारन्ट अफिसर क्लास टु जिवन बीकेले सफलतापूर्वक निर्वाह गरेका थिए ।

त्यसैगरी ब्रिगेड अफ गोर्खाज ब्यान्डको उत्कृष्ट सांगीतिक प्रस्तुति क्याप्टेन सुनिल गुरुङको नेतृत्वमा सम्पन्न भएको थियो। जसले सम्पूर्ण कार्यक्रमलाई थप आकर्षक, अनुशासित र स्मरणीय बनाएको थियो। समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले गोर्खा सैनिकहरूको अद्वितीय योगदान, समर्पण, बहादुरी तथा ब्रेकन समुदायसँगको दीर्घकालीन मित्रतापूर्ण सम्बन्धको प्रशंसा गरेका थिए। उनीहरूले गोर्खाहरूले ब्रिटिश सेनामा पुर्याएको अतुलनीय योगदान र समाजमा खेलेको सकारात्मक भूमिकाको उच्च मूल्याङकन गरे। त्यसपछि परेड कमाण्डरले ‘फ्रिडम अफ द टाउन’ प्रयोग गर्ने अनुमति माग्दै औपचारिक प्रक्रिया पूरा गरेपछि गोर्खा सैनिकहरू ब्रेकन शहरका सडकमा गौरवपूर्ण रूपमा मार्च गरेका थिए।
ब्रेकनवासी तथा आगन्तुकहरूले ताली बजाएर गोर्खा सैनिकहरूको सम्मान व्यक्त गरेका थिए। कार्यक्रमको अर्को प्रमुख आकर्षण सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए। धम्पुस परिवार यूकेको तर्फबाट राष्ट्रिय चर्चित लोकप्रिय डान्सर मिस सरिस्मा रामजाली मगरले उत्कृष्ट सांस्कृतिक नृत्य प्रस्तुत गरी दर्शकहरूको मन जित्न सफल भयो। त्यसैगरी स्थानीय गोर्खा तथा नेपाली समुदायले विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेका थिए। मार्सल आर्ट प्रदर्शन, खुकुरी नृत्य तथा नेपाली कला संस्कृति झल्काउने विविध प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक, जीवन्त र स्मरणीय बनाएका थिए। ब्रेकनमा बसोबास गर्दै आएका नेपाली समुदायको पनि यस कार्यक्रममा विशेष भूमिका रहेको थियो।

उनीहरुको उल्लेखनीय सहभागिता, सहयोग, आतिथ्यता तथा उत्साहजनक उपस्थितिले कार्यक्रमको सफलतामा महत्वपूर्ण योगदान पुर्याएको थियो। स्थानीय नेपाली समुदायले गोर्खा परम्परा, संस्कृति र सामुदायिक एकतालाई प्रवर्द्धन गर्दै कार्यक्रमलाई अझ भव्य, जीवन्त र स्मरणीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
यस अवसरमा धम्पुस परिवार यूकेको तर्फबाट अध्यक्ष धनबहादुर गुरुङ, संरक्षक मेजर खुसीमान गुरुङ, वरिष्ठ उपाध्यक्ष गोलमान गुरुङ, पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू तथा दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूको उपस्थितिले धम्पुस समुदायको एकता, सक्रियता तथा सांस्कृतिक प्रतिबद्धतालाई उजागर गरेको थियो। ब्रिगेड अफ गोर्खाज ब्यान्डको उत्कृष्ट सांगीतिक प्रस्तुति कार्यक्रमको अर्को विशेष आकर्षण बनेको थियो। ब्यान्डको प्रस्तुति पश्चात गिल्डहलमा आयोजित स्वागत समारोहमा सहभागीहरूबीच आपसी भेटघाट, शुभकामना आदानप्रदान तथा मित्रता सुदृढ गर्ने अवसर प्राप्त भएको थियो। ब्रेकनमा गोर्खाहरूको इतिहास सन १९७४ देखि सुरु भएको मानिन्छ भने सन १९८० मा गोर्खा डेमोन्स्ट्रेशन कम्पनीको औपचारिक स्थापना भएको थियो।

गोर्खा सैनिकहरूले ब्रेकन समुदायमा पुर्याएको योगदानको सम्मानस्वरूप सन १९८५ मा ब्रेकन टाउन काउन्सिलले गोर्खाहरूलाई मानार्थ नागरिकता प्रदान गरेको थियो। त्यसैको सम्मानस्वरूप सन १९८६ देखि गोर्खा फ्रिडम परेडको परम्परा सुरु भएको हो। जुन आजसम्म गौरवका साथ निरन्तर रूपमा मनाइँदै आएको छ। कार्यक्रमका अविस्मरणीय क्षणहरूलाई कोन्मे इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक तथा आधिकारिक फोटोग्राफर सन्तोष कोन्मेले आफ्नो क्यामेरामा उत्कृष्ट रूपमा कैद गरेका थिए ।
त्यसैगरी बीएफबीएस गोर्खा रेडियोकी रूपा रानाले कार्यक्रमको समाचार, मुख्य गतिविधि तथा विशेष आकर्षणहरूलाई व्यापक रूपमा सञ्चारमाध्यम मार्फत प्रसारण गरी गोर्खा समुदाय र आम श्रोतामाझ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । उनीहरूको योगदानले यस ऐतिहासिक कार्यक्रमलाई प्रभावकारी रूपमा दस्तावेजीकरण, प्रचारप्रसार तथा भावी पुस्ताका लागि स्मरणीय बनाउन महत्वपूर्ण सहयोग पुगेको थियो।

४१औँ वार्षिक गोर्खा फ्रिडम परेड २०२६ केवल एक औपचारिक सैन्य समारोह मात्र नभई नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्ध, मित्रता, पारस्परिक सम्मान तथा गोर्खाहरूको गौरवशाली विरासतको जीवन्त उत्सवका रूपमा स्मरणीय बनेको छ। यसले गोर्खाहरूको वीरता, समर्पण, सांस्कृतिक पहिचान तथा नेपाल बेलायत सम्बन्धको अमिट इतिहासलाई पुनः स्मरण गराउँदै भविष्यका पुस्तालाई प्रेरणा प्रदान गरेको छ।