बेलायत । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडीले मिड वेल्समा निर्माण भइरहेको 'नेपाली भिलेज यूके' परियोजनाको स्थलगत भ्रमण गरेका छन्।
आगामी जुन २६ मा वेल्समा आयोजना हुने ब्रेकन फ्रिडम परेडमा सहभागी हुन जाने क्रममा उनले शनिबार यस परियोजनाको पछिल्लो अवस्थाबारे जानकारी लिएका हुन्। परियोजनाका प्रमुख निर्देशक मेजर खुशीमान गुरुङ एमभीओले कावा राजदूत दुवाडीलाई यसको लक्ष्य, प्रगति र भावी योजनाबारे विस्तृत जानकारी गराएका थिए।
भ्रमणका क्रममा कावा राजदूत दुवाडीले परियोजनाको अवधारणा र प्रगतिप्रति खुसी व्यक्त गर्दै यसलाई ऐतिहासिक कार्यको रूपमा प्रशंसा गरे। उनले लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारको तर्फबाट सम्भव भएसम्मका सबै सहयोग र समन्वयका लागि पहल गर्ने आश्वासन समेत दिएको मेजर गुरुङले बताए।
यो परियोजना बेलायत मात्र नभई समग्र युरोपकै पहिलो र पृथक् समुदायमा आधारित व्यावसायिक योजना हो। बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नै देशको झझल्को दिने र फुर्सदको समयमा मनोरञ्जनका साथै मौलिक अनुभव प्रदान गर्ने उद्देश्यले यसको अवधारणा ल्याइएको हो। सन् २०२३ मा खरिद गरिएको १९३ रोपनी जग्गामा नेपालको पहाडी र हरियाली परिदृश्यसँग मिल्दोजुल्दो गरी विभिन्न संरचना निर्माण गरिँदैछ। यहाँ लुम्बिनी, सगरमाथा, धरहरा, पशुपतिनाथ, बौद्धनाथ र १०८ धारा जस्ता नेपालका प्रसिद्ध स्मारकहरूको प्रतिकृति बनाइने योजना छ।
मेजर गुरुङका अनुसार जग्गा खरिद र मर्मतको प्रारम्भिक कार्य सम्पन्न भई हाल स्थानीय निकायमा प्लानिङ स्वीकृतिको प्रक्रिया अघि बढिसकेको छ। स्वीकृतिपछि त्यहाँ होटल, ध्यान केन्द्र, ठूलो चौतारी, ऐतिहासिक ढुङ्गेधारा, जैविक फार्म र नेपाली तथा वेल्स शैलीका घरहरू निर्माण गरिनेछन्। यसबाहेक, विवाह र सभा-समारोहका लागि हल तथा नेपाली कला र संस्कृति झल्काउने प्रदर्शनी कक्षहरू पनि बनाइने छ। मेजर खुशीमान गुरुङको नेतृत्वमा रहेको व्यवस्थापन समितिले यस परियोजनालाई सात समुद्रपारि नेपाली पहिचान र कला-संस्कृति जोगाउने एक महत्त्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।


