लन्डन । डिसेम्बर १९८७ इन्टेकका ब्रिगेड अफ गोर्खाजका नम्बरीहरूको वार्षिक भेटघाट कार्यक्रम गत शनिबार (जुन ६) लन्डनस्थित वुलिच वेलफेयर कम्युनिटी हलमा सम्पन्न भएको छ ।
मेजर देवकुमार गुरुङ एमभीओको अध्यक्षता, महासचिव पदमलाल भुजेल तथा कोषाध्यक्ष देउबहादुर गुरुङको सक्रिय समन्वयमा आयोजित कार्यक्रममा नम्बरीहरू तथा उनका परिवारजनको उल्लेखनीय सहभागिता रहेको थियो ।

डिसेम्बर १९८७ मा कुल १२५ जना ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका थिए । भर्ती भएको ३९ वर्ष पूरा भएको अवसरमा अध्यक्ष मेजर गुरुङ र उनकी धर्मपत्नी गंगा गुरुङले केक काटेर खुसी साटासाट गरेका थिए । हरेक वर्ष आयोजना हुँदै आएको यस भेटघाटले नम्बरीहरूबीचको मित्रता, एकता र आत्मीय सम्बन्धलाई अझ बलियो बनाउँदै आएको सहभागीहरूले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे । साथै, यस वर्ष उपस्थित हुन नसकेका नम्बरी तथा परिवारजनलाई आगामी वर्षको भेटघाटमा अनिवार्य सहभागी हुन आग्रह गर्दै उनले भने, ‘अब हाम्रो समय भनेको रमाइलो गर्ने, एकअर्कासँग भेटघाट गर्ने र सुखद क्षणहरू बाँड्ने हो । यो सम्बन्ध निरन्तर रहिरहनुपर्छ ।’
कार्यक्रमको प्रारम्भमा दिवंगत नम्बरीहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
-1780850041.jpeg)
यसैबीच, आरएएफ हाई वाइकम्बस्थित एमपीजीएसमा कार्यरत लालधोज गुरुङ हालै डिटाचमेन्ट कमान्डर पदमा पदोन्नति भएको अवसरमा अध्यक्ष तथा उनकी धर्मपत्नीले खादा र फूलको गुच्छा प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए ।
आगामी वर्ष भर्ती भएको ४० वर्ष पूरा हुने अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारीबारे पनि जानकारी दिइयो । मेजर कुमार गुरुङ र भक्त रानाले पावरपोइन्ट प्रस्तुतीकरणमार्फत ४०औँ वार्षिकोत्सव एक साताको क्रुज यात्रासहित भव्य रूपमा मनाउने योजना प्रस्तुत गरेका थिए । उक्त प्रस्तावप्रति नम्बरी तथा परिवारजन उत्साहित देखिएका थिए ।
-1780850064.jpeg)
सांस्कृतिक कार्यक्रममा नेपालबाट आएकी दोहोरी गायिका सपना रोका मगरले आफ्नो प्रस्तुतिमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिन् । नम्बरी समूहका ज्येष्ठ सदस्य गजबीर थापाले कविता वाचन गरेका थिए भने प्रकाश गुरुङले नम्बरीहरूको महत्व, आपसी सद्भाव र कहिल्यै नटुट्ने सम्बन्धबारे बोल्दै कविता पनि प्रस्तुत गरेका थिए ।
त्यसैगरी, दीर्घ गुरुङले वंशजको नागरिकता निरन्तरताको विषय अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै भावी पुस्ताको हितका लागि सबै एकजुट भएर पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।
-1780850099.jpeg)
कार्यक्रममा विष्णु गोले र उनकी धर्मपत्नीको युगल नृत्य तथा नारायण गुरुङको एकल नृत्य आकर्षणका रूपमा रहेका थिए। मनोरञ्जनको क्रममा एआई प्रविधिको प्रयोग गरी बिङ्गो खेल पनि सञ्चालन गरिएको थियो ।
कार्यक्रम सफल बनाउन क्याप्टेन मोहन तामाङ, प्रकाश गुरुङ, संगीना गुरुङ, भीष्म राई तथा भगवती राई बिहानैदेखि सक्रिय रहेका थिए । मनोरञ्जन व्यवस्थापनमा विक्रम गुरुङ र नारायण गुरुङले सहयोग पुर्याएका थिए ।
भोजन व्यवस्थापन थकाली किचेन एन्ड सर्भिसेसका श्याम शेरचनले गरेका थिए। सहभागीहरूले खानाको गुणस्तर र व्यवस्थापनको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रम आपसी सद्भाव, पुनर्मिलन तथा आगामी ४०औँ वार्षिकोत्सवको तयारीबारे उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन् ।