पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालको ४२ औं वार्षिक साधारण सभा एवम १७औं महाधिवेशन आगामी असोज ९ र १० गते पोखरामा हुने भएको छ ।
पोखरा १३ स्थित मिलिजुली बिजयपुर तमु समाजमा शुक्रवार तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न मासिक घुम्ति बैठकले साधारण सभा र महाधिवेशनको मिति तय गरेको हो। बैठकले महाधिवेशन तयारीका लागि जेठ ३१ गते तमु धिंमा बृहद अन्तरक्रिया कार्यक्रम गर्ने समेत निर्णय गरेकोछ। उक्त अन्तरक्रिया तमु धिं नेपाल कास्की जिल्ला समितिको प्रस्तावमा आयोजना गर्ने भएको हो।

अन्तरक्रियामा महाधिवेशन प्रतिनिधि छनौट, निर्वाचन समिति लगायत आयोजक उपसमितिहरु गठन, तमु एकता, तमु भाषा एवम लिपि, आगामी कार्ययोजना, विधानमा संशोधन गर्नुपर्ने प्रस्ताव, अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयमा तमु जातिको कक्ष, आगामी तमु ल्होछार महोत्सवको तयारी, तमु सुँ प्रकाशन लगायतका विषयमा बृहद छलफल गर्ने भएको हो। यसै गरी बैठकले आगामी असार १२-१४ गते अध्ययन अवलोकन भ्रमण गर्ने, असारको २१ गते फुलवारी तमु समाजमा मासिक घुम्ती बैठक आयोजना गर्ने निर्णय गरेको छ।
बैठकमा आदिवासी जनजाति छैटौं चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र र उत्कृष्ट स्कृप्ट बिधा अवार्ड जित्न सफल ङोल्स्यो रामरानी चलचित्रका निर्माता एवम नायक तमु धिं नेपाल केन्द्रिय युवा समिति सचिव रामप्रसाद गुरुङ, तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा ५६ युनिट रक्तदान गर्न सफल केन्द्रिय युवा समिति, रुम्जाटार हलेसी काठमाडौ अध्ययन अवलोकन साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको तमु धिं नेपाल केन्द्रिय आमा समिति, घुम्ती बैठक आयोजना आत्मिय स्वागतका लागि मिलिजुली बिजयपुर तमु समाजलाई बधाई एवम धन्यवाद र नवयुवा बिद्यार्थी साँस्कृतिक कलाकारहरुलाई स्वागत गरिएको थियो।
यसै बिच तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिले असार ८ गते आयोजित वार्षिकोत्सव भव्य सफल बनाउने निर्णय गरेको छ। बैठकमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले मासिक रिपोर्टिङ र कोषाध्यक्ष गमबहादुर गुरुङले मासिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा मिलिजुली बिजयपुर तमु समाजको स्थापना, समाजको उद्देश्य र गतिविधिसहित समाजकोबारेमाअध्यक्ष खडगबहादुर गुरुङले जानकारी गराएका थिए भने मिलिजुली बिजयपुर तमु समाजका आमाहरुले सांस्कृतिक प्रस्तुति गरेका थिए ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको बैठकमा वरिष्ठ उपाध्यक्ष सुबेदार मेजर श्रीप्रसाद गुरुङले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिको वार्षिकोत्सबको तयारीका बारेमा सहसचिव ममता गुरुङले बोलेका थिए ।