लन्डन । तिब्बती बौद्ध धर्मका गुरु क्याब्जे ग्याङखाङ रिन्पोछे बेलायत आइपुगेका छन् ।
उनलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा बिहीबार बुद्धिस्ट गुम्बा रेडिङका मूल लामा गुरु खेन रिन्पोछे शिर लामा गुरुङ, अध्यक्ष इन्स्पेक्टर खेम गुरुङ, वरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ, उपाध्यक्ष नरबहादुर गुरुङ, महासचिव कमल गुरुङ, कोषाध्यक्ष मेजर बुद्धी गुरुङ, प्रोपर्टी मेनेजर चन्द्रमान गुरुङलगायतले स्वागत गरेका थिए ।
रिन्पोछे आगामी ७ जुनमा अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुने ‘२१ जम्भला एम्पावरमेन्ट एन्ड धर्म देशना’ (21 Jambhala Empowerment and Dharma Deshana) कार्यक्रममा सहभागी हुन यूके आएका हुन् ।
बौद्ध गुम्बा रेडिङ यूके, शेड्रुप दोजो गात्सल र पेमा कारा गात्सलको संयुक्त आयोजनामा हुने कार्यक्रममा उनले २१ जम्भलाको पवित्र अभिषेक प्रदान गर्नुका साथै बुद्ध शिक्षासम्बन्धी धर्मदेशना दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
चौथो ग्याङखाङ छोत्रुल अवतारका रूपमा परिचित रिन्पोछेको उपस्थितिलाई भक्तजनका लागि दुर्लभ आध्यात्मिक अवसरका रूपमा हेरिएको छ ।
कार्यक्रममा दक्षिण भारतको नम्ड्रोलिङ गुम्बामा विशेष साधनाद्वारा तयार गरिएको पवित्र ‘याङबुम’ (कलश) समेत वितरण गरिने जनाइएको छ ।