लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान (सीएनसीबीजी) को वार्षिक साधारणसभा सम्पन्न भएको छ । अल्डरसटको एम्पायार हलमा ३० मेमा सभा सम्पन्न भएको हो ।
सभामा अध्यक्ष थर्क रानाको सभापतित्व तथा नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष मे.रि योगेश राईको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्ष राना र प्रमुख अतिथि राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम सुरु गरेका थिए । महासचिव भक्त रानाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष शोभराज गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
कोषाध्यक्ष याम थापाले गत वर्षको वार्षिक साधारण सभाबाट अहिलेसम्म कुन कुन शीर्षक र श्रोतबाट के कति रकम प्राप्त भयो र कुन कुन शीर्षकमा के कति रकम खर्च भयो साथै संस्थासँग के कति रकम बाँकी छ भन्ने विवरण प्रस्तुत गरे ।
उपाध्यक्ष दलबहादुर बुढाथोकीले सीएनसीबीजीको अवधारणा, मार्गचित्र तथा संविधान संशोधनको लागि पठाएको सुझावबारे स्पष्ट पारेलगत्तै लन्च ब्रेक भएको थियो । त्यसपछि वेबहोस्ट इस्ट गुरुङले संस्थाको वेबसाइटबारे प्रकाश पारेका थिए ।
उपाध्यक्ष शोभराज गुरुङज्यूले प्रस्तुत गरेको संस्थाको विधान संशोधन उपर वृहत् छलफल गरी बहुमत सदस्यले पारित गरेका थिए । ग्रुप छलफल र प्रश्न उत्तर लिने दिने क्रममा दिल गुरुङ, मनोज पुन, देभकुमार गुरुङ, दिर्ग गुरुङ, मोहन गुरुङ र कृष्ण राईले जिज्ञासा तथा सुझाव राखेका थिए ।
अध्यक्ष रानाले हालै नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौड्याल पूर्व गृहमन्त्री सुदन गुरुङ, विभिन्न पार्टीका अध्यक्ष तथा संघीय सांसदसँग भेट गरी गोर्खा र तिनका सन्तानहरूका नागरिकता निरन्तरताबारे सीएनसीबीजीको तर्फबाट राखेको विषयमा प्रस्ट पार्दै भविष्यमा ती कुराहरूलाई कसरी बढाईंदैछ भन्ने कुराको विस्तृतमा जानकारी गराए ।
त्यसपछि विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिले सल्लाह, सुझाव र शुभकामना दिएका थिए । सल्लाहकार भागवान चाम्लिङ, नेफिन यूकेका पूर्वअध्यक्ष, सल्लाहकार तुल छन्त्याल, नारदमणि गुरुङ, सन्धोश गुरुङ, प्रमुख अतिथि मे.रि योगेश राईले शुभकामना दिएका थिए ।
उनीहरूले मन्तव्यका क्रममा सीएनसीबीजीको संयोजकत्वमा नेपाल सरकारसँग वार्ता गर्न गोर्खा संस्थाहरू समेटी तत्काल एक उच्चस्तरीय प्रतिनिधि मण्डल गठन गर्न पहल गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।
अन्त्यमा अध्यक्ष रानाले सबैको जिज्ञासाको उत्तर दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएर सभा समापन गरेका थिए ।
-दलबहादुर बुढाथोकी