बेलायत । लन्डनको अल्डरसटस्थित एम्पायर हल शनिबार नेपाली लोक संगीतको धुनले गुञ्जायमान बन्यो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, युके शाखाको आयोजनामा मे ३०, २०२६ का दिन ’नवौँ लोकदोहोरी स्वर्णिम साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । नेपाली लोक संस्कृति र मौलिकतालाई प्रवासमा पनि जगेर्ना गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा नेपालबाट आएका ख्यातिप्राप्त डेढ दर्जन कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।
लोकदोहोरी गायक कृष्ण सुवेदी र गायिका शोभा त्रिपाठीले कुशलतापूर्वक सञ्चालन गरेको उक्त सांगीतिक साँझमा सोनी कुँवर, मञ्जु विक, रूपी सिञ्जाली मगर, सविना बुढा मगर र शर्मिला गुरुङले आफ्ना चर्चित गीतहरू पस्केका थिए । नृत्यतर्फ सरिश्मा रामजाली र शिवदास गुरुङको कलात्मक प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिलाएको थियो भने गायक गोविन्द पुन, गायिका ललिता पुन र रेश्मा तामाङको सांगीतिक कोसेलीले कार्यक्रममा थप रौनक थपेको थियो । मौलिकता झल्कने मञ्जु बिक र धन गुरुङ समूहको ’ठाडो भाका’ कार्यक्रमको विशेष आकर्षण बनेको प्रतिष्ठानका युके शाखा अध्यक्ष मनसुधन थापा मगरले बताए ।
गायन र नृत्यलाई थप जीवन्त बनाउन वाद्यवादनतर्फ धनबहादुर गुरुङले बाँसुरी, मीन गुरुङले मादल, रेशम पाचेले ढोलक, सन्तोष पुनले किबोर्ड, यज्ञ बिकले अक्टोप्याड र राजकुमार पुर्जाले हार्मोनियममा साथ दिएका थिए । कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने सम्पूर्ण टोली, सहयोगी र दर्शकप्रति आभार प्रकट गर्दै अध्यक्ष थापा मगरले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबैलाई धन्यवाद दिए ।
कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको थियो । जसमा संयोजक कल्पना शीलपाल, व्यवस्थापनमा चन्द्र गुरुङ, रेशम पाचे, धर्म लामा र सन्तोष पुनले सक्रिय भूमिका निर्वाह गरे । यस्तै कलाकार समन्वयमा रत्न शाही, साउन्डमा टंक शेरचन, सम्मान व्यवस्थापनमा लक्ष्मण राणा, गेटमा जित काउछ, भीम आले र तारा गर्बुजा मगर खटिएका थिए । अतिथिको स्वागत सत्कारमा निशा गुरुङ, रेखा कोइराला, सिर्जना गुरुङ, शशी थापा राना र पम्फा थापाले सहयोग गरे भने स्टेज व्यवस्थापन शिला थापा, छवि पुन, आश्मा छन्त्याल, नुनमाया नौभाग्य र मोहन्देवी रानाले सम्हालेका थिए । प्रविधिको पाटो खेम आलेले हेरेका थिए भने एम्पायर हलका सञ्चालकहरू पुरन गिरी, नारायण गिरी र राजकुमार गुरुङलगायत स्वयंसेवकहरूको योगदान महत्वपूर्ण रहेको अध्यक्षले थापामगरले बताए ।
वरिष्ठ गायिका शर्मिला बर्देवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर विशेष अतिथिका रूपमा सहभागी थिए । सो अवसरमा टंक शेरचन, कल्पना गुरुङ पुन र कविता घर्ती मगर गुरुङलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । नेपाली लोक संगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठानले हरेक वर्ष यो विशेष कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।





