अल्डरसट ।The Palace Restaurant मा 6 GR D Mandalay Company को वार्षिक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। १६ मे शनिबार आयोजित कार्यक्रममा कम्पनीका सदस्यहरू तथा उनीहरूका परिवारजनको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवात दिवंगत सदस्यहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणबाट गरिएको थियो। त्यसपछि सहभागीहरूले नेपाली राष्ट्रिय गान गाएका थिए। कार्यक्रमको औपचारिक उद्घाटन कम्पनीका भूपू टूआईसी क्या. रि. बमबहादुर गुरुङ तथा ज्येष्ठ सदस्यहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरी गरेका थिए।
कार्यक्रमका विशेष आकर्षणका रूपमा ३५ वर्ष लामो सैनिक सेवा पूरा गरेका मेजर सुरेश कुमार थापा एमभीओलाई विशेष सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि मन्तव्य राख्दै मेजर थापाले आफ्नो सफल यात्रामा अग्रजहरूको मार्गदर्शन र प्रेरणाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले आफ्नो पहिलो कम्पनी र सहकर्मीहरूप्रति सम्मान व्यक्त गर्दै संस्थालाई १५० पाउण्ड आर्थिक सहयोगसमेत प्रदान गरेका थिए।
क्या. रि. इमान गुरुङले स्वागत मन्तव्य राख्दै संस्थाको पृष्ठभूमि तथा वार्षिक भेटघाट कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए। नाति जन्मिएको खुसीयालीमा क्याप्टेन गुरुङ दम्पतीलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो भने उनीहरूले पनि संस्थालाई आर्थिक सहयोग उपलब्ध गराएका थिए।
त्यसैगरी, व्यवसायी तथा थकाली कुजिनका सञ्चालक डब्लूओटू केशर गुरुङ र क्या. रि. बमबहादुर गुरुङ दम्पतीले पनि संस्थालाई सहयोग प्रदान गरेका थिए।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार Ruby Sinjali Magar ले सांगीतिक प्रस्तुति दिएकी थिइन्। उनको प्रस्तुतिले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
शेरबहादुर पुनले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वास्थ्य, सुरक्षा तथा प्रशासनिक समन्वयको जिम्मेवारीसमेत उनले नै निर्वाह गरेका थिए। कार्यक्रम सफल बनाउन साउन्ड सिस्टममा जीत गुरुङ, रिसेप्सन व्यवस्थापनमा गोलमान गुरुङ र सूर्य गुरुङले प्राविधिक तथा व्यवस्थापकीय सहयोग पुर्याएका थिए। साथै, कम्पनीका सदस्य तथा गोर्खा मिडियासँग आबद्ध मिलन तमुले फोटो तथा भिडियो व्यवस्थापनमा सहयोग गरेका थिए।
सामूहिक रात्रिभोज, शुभकामना आदानप्रदान तथा आगामी वर्ष पुनः भेट्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।







