ब्रेकन । नेपाली भिलेज यूकेको वार्षिक साधारणसभा शनिबार ब्रेकनस्थित Aberclydach House मा सम्पन्न भएको छ । मेनेजिङ डाइरेक्टर मेजर खुशीमान गुरुङ एमभीओको अध्यक्षतामा सम्पन्न कार्यक्रम डाइरेक्टर मधु गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रममा मेनेजिङ डाइरेक्टर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालसम्मको प्रगति तथा भावी योजनाबारे जानकारी गराएका थिए । उनले नेपाली भिलेज यूके दीर्घकालीन सामुदायिक तथा व्यावसायिक परियोजना भएको उल्लेख गर्दै सबै शेयरधनी, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गरे ।
गुरुङका अनुसार संस्थाले हालसम्म उल्लेखनीय प्रगति हासिल गरेको छ । शेयर अभियानबाट १६८ शेयर संकलन गरिएको र यसैको आधारमा २२ कोठे Aberclydach House खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
उक्त सम्पत्ति प्रारम्भमा १५ लाख पाउन्डमा सूचीकृत भए पनि संस्थाले ८ लाख पाउन्डमा खरिद प्रस्ताव स्वीकृत गराउन सफल भएको उनले बताए । उक्त भवनलाई स्तरीय होटलका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको र त्यसका लागि लाइसेन्स, कानुनी प्रक्रिया तथा आवश्यक जाँच कार्य अघि बढाइएको जानकारी गराइयो ।
कार्यक्रममा संस्थाले भविष्यमा होटल सञ्चालनसँगै मनोरञ्जन तथा शैक्षिक केन्द्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिइएको थियो । फार्महाउसमा बुकिङ बढ्दो क्रममा रहेको तथा जैविक तरकारी खेती, वृक्षारोपण र सामुदायिक गतिविधिले परियोजनालाई थप आकर्षक बनाएको जनाइएको छ ।
भविष्यमा प्रदर्शनी हल, मिटिङ तथा ब्रीफिङ हल, क्याफे, सीमित क्याम्पिङ सुविधा, चौतारी, ढुंगेधारा, नेपाल र वेल्सका ऐतिहासिक सम्पदाका प्रतिकृति निर्माणलगायतका योजना अगाडि सारिएको छ ।
कार्यक्रममा डाइरेक्टर तथा सचिव टिकाराम गुरुङले संस्थाको वार्षिक गतिविधि प्रतिवेदन प्रस्तुत गरेका थिए भने फाइनान्स डाइरेक्टर लोकेन्द्रराज श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसैगरी प्लानिङ एन्ड डेभलपमेन्ट रिपोर्ट प्लानिङ डाइरेक्टर मिस्टर कोलिन प्रिसले तथा प्रोजेक्ट एन्ड डेभलपमेन्ट प्लान प्रोजेक्ट डाइरेक्टर पिताम्बर गुरुङले प्रस्तुत गरेका थिए ।
साधारणसभामा आगामी दिनमा थप शेयर खुला गर्ने, वेल्स टुरिजम बोर्ड फन्ड, बैंक ऋण तथा अन्य आर्थिक स्रोतको खोजी गर्ने प्रस्तावसमेत अघि सारिएको थियो । संस्थाले महिला समूह, युवा समूह तथा सांस्कृतिक समूह गठन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
अन्त्यमा मेजर खुशीमानले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै परियोजना सफल बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका थिए ।