लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेद्वारा आयोजना हुन लागेको ३ दिने वज्रसत्व महासाधनाका लागि धर्मगुरु दोर्जे लोपन लुङ्गरिक रिन्पोछे लन्डन आइपुगेका छन् ।
बीसीसी यूकेले आगामी २९ मेदेखि ३१ मेसम्म अल्डरसटस्थित गुम्बामा आयोजना गर्ने वज्रसत्व महासाधनामा सहभागी हुन रिन्पोछे मंगलबार लन्डन आएका हुन् ।
उनको स्वागतका लागि बीसीसी यूकेका प्रमुख लामा खेन्पो छिरिङ, खेन्पो यन्तेन, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ एमभीओ, आमा प्रमुख शारदा गुरुङ, पूर्वअध्यक्ष नरेश गुरुङ तथा समाजसेवीहरू मिन गुरुङ र तर्कजंग गुरुङ हिथ्रो विमानस्थल पुगेका थिए । त्यस्तै, उनलाई सोही दिन बीसीसी युकेका महासचिव कुमार गुरुङ, एमभीओ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, समाजसेवी क्याप्टेन बुद्ध गुरुङलगायतले बीसीसी युकेको अल्डरसटस्थित गुम्बामा पनि स्वागत गरेका थिए ।
उक्त वज्रसत्व महासाधनालाई गम्भीर, पवित्र तथा सामूहिक वज्रयान साधनाका रूपमा लिइन्छ । यो एक सय यिदम कुलपति वज्रसत्वको साधना पनि हो, जुन महान् तेर्तोन तेर्दग लिङ्पाद्वारा प्रकाशित अमूल्य निधि उपदेश मानिन्छ। यसको मूल स्रोत गुरु पद्मसम्भवलाई मानिएको छ ।
यस महासाधनामा मण्डल निर्माण, तोर्मा तथा विविध अर्पणको व्यवस्था, दिनमा चार सत्रसम्म साधना, निरन्तर मन्त्रजप, ध्यान तथा मुद्राहरूको अर्पणसहित सम्पूर्ण विधिपूर्वक अभ्यास गरिनेछ ।
-1778770968.jpg)
वज्रसत्व महासाधनालाई महायोग, अनुयोग र अतियोग–तीनै आन्तरिक तन्त्रहरूको सार समेटिएको अत्यन्त शक्तिशाली साधनाका रूपमा व्याख्या गरिन्छ । विशेषगरी वर्तमान पतित युगमा पाप शुद्धि, समया शुद्धि, पुण्य सञ्चय तथा शीघ्र आशीर्वाद प्राप्तिका लागि यो दुर्लभ र अनुपम अवसर मानिएको छ ।
दोर्जे लोपन लुङ्गरिक रिन्पोछेको अगुवाइमा सञ्चालन हुने उक्त ३ दिने वज्रसत्व महासाधनामा सहभागिता जनाउनु वर्षौंको एकान्त साधनासरह पुण्यदायी मानिने विश्वास छ ।
यस दुर्लभ महाशुद्धि साधनामा सहभागी हुन सम्पूर्ण श्रद्धालु तथा साधकहरूलाई आयोजक बीसीसी यूकेका प्रमुख सल्लाहकार एवं साधना संयोजक मेजर खुशीमान गुरुङले हार्दिक अनुरोध गरेका छन् ।
–Purna Gurung