बेलायत । बेलायतको ओकफ्रमस्थित समेल कोडि स्कुलमा हिजो मे ९ तारिख शनिबारका दिन १६ औं प्हच्यु भाई खलक तथा चेलीबेटी भेटघाट कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भयो । संस्थाका अध्यक्ष सुशील प्हच्युको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई सचिव पहल मान पहच्युले सञ्चालन गरका थिए ।
कार्यक्रमको औपचारिक सुरुवात परम्परागत कुल पितृ पूजाबाट गरिएको थियो । सो अवसरमा परिवारका दिवंगत सदस्यहरूको सम्झनामा एक मिनेट मौन धारण समेत गरियो। कार्यक्रममा उपाध्यक्ष बल प्हच्युले उपस्थित सबैलाई स्वागत गर्दै आपतकालीन सुरक्षाका विषयमा जानकारी दिए। संस्थाका प्रमुख सल्लाहकार जगत प्हच्युले संस्थाको स्थापना र पहच्यु वंशको ऐतिहासिक पृष्ठभूमिका बारेमा प्रष्ट पारेका थिए । यसैगरी, अध्यक्ष सुशील प्हच्युले संस्थाको वर्तमान अवस्था र चेलीबेटी भेटघाट कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।
समारोहमा ८० वर्ष माथिका जेष्ठ नागरिकहरूलाई क्रेगी र माला लगाएर विशेष सम्मान गरिएको थियो । साथै, ब्रिटिस आर्मीका विभिन्न पदमा पदोन्नति भएका सदस्यहरू, स्नातक तह (ग्रेजुएशन) पूरा गरेका युवाहरू, नव विवाहित जोडीहरू र संस्थामा भर्खरै आबद्ध भएका नयाँ सदस्यहरूलाई पनि क्रेगी, कर्मू र मालासहित सम्मानित पनि गरिएको थियो । विभिन्न सामाजिक संघसंस्थामा निर्वाचित हुन सफल भएका व्यक्तित्वहरूलाई पनि सोही अवसरमा सम्मान प्रदान गरिएको थियो ।
सांस्कृतिक माहोललाई थप रोचक बनाउन विभिन्न स्थानीय गीत र नृत्यहरू प्रस्तुत गरिएका थिए। नेपालबाट आएका चर्चित लोक गायिकाहरू निर्जला तमु, रेश्मा तामाङ र मञ्जु बी.क. को सांगीतिक प्रस्तुतिले कार्यक्रममा विशेष रौनक थपेको थियो। उनीहरूको लोक दोहोरी गीतमा पहच्यु परिवारका सदस्य तथा चेलीबेटीहरूले झुमेर नाचगान गर्दै भरपूर मनोरञ्जन लिए। कार्यक्रमको अन्त्यमा तीनै जना कलाकारहरूलाई गुरुङ रीतिरिवाज अनुसार स्याई स्याई र आशीर्वाद दिँदै कर्मू र सम्मान पत्रद्वारा सम्मान गरियो।
भाइखलक र चेलीबेटीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा करिब ५ सयभन्दा बढी मानिसहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा गोरखा किचनका सञ्चालक भीम गुरुङलाई पहच्यु भाइ खलकको तर्फबाट विशेष धन्यवाद तथा आभार व्यक्त गरिएको छ। कार्यक्रममा सञ्चालक गुरुङले पस्किनुभएको अत्यन्तै स्वादिष्ट भोजन र उत्कृष्ट आतिथ्यताप्रति खुसी व्यक्त गर्दै पहच्यु परिवारले उहाँलाई धन्यवाद दिएको हो।
पहच्यु भाइ खलकका प्रतिनिधिहरूले भीम गुरुङको पाककला र सेवा भावको प्रशंसा गर्दै भने , 'हामीलाई एकदमै स्वादिष्ट र गुणस्तरीय खाना खुवाउनुभएकोमा भीम गुरुङज्यू र उहाँको टिमप्रति हामी निकै आभारी छौँ। उहाँको आत्मीय व्यवहारले हामीलाई निकै प्रभावित तुल्याएको छ।





