बेलायत । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतको आयोजनामा आगामी मे १० तारिख, आइतबारका दिन एल्डरशटमा हुने ‘डिनर नाइट’ कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ ।
एल्डरशटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा सञ्चालन हुने यस कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले दिए। कार्यक्रमलाई व्यवस्थित बनाउन मेजर इन्द्रप्रसाद राईले प्रमुख संयोजकको जिम्मेवारी सम्हालेका छन् ।
“देश तथा विदेश जहाँ रहेपनि हाम्रो पहिचान, प्रतिनिधित्व र समावेशिताको आवाज उठाऔँ” भन्ने मूल नाराका साथ हुन लागेको यस कार्यक्रमले विश्वव्यापी रूपमा छरिएर रहेका नेपाली आदिवासीहरूको भाषा, धर्म, संस्कृति र अधिकार सुनिश्चितताका लागि जागरण फैलाउने लक्ष्य लिएको छ। आदिवासी जनजातिको पहिचान र अधिकारलाई अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउन तथा विश्वव्यापी अभियानलाई गति दिन यो कार्यक्रम एउटा महत्वपूर्ण मञ्च बन्ने विश्वास आयोजकले गरेको छ।
यस गरिमामय कार्यक्रमको मुख्य आयोजक नेफिन बेलायत रहेको छ भने यसलाई सफल पार्न नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, पत्रकार महासंघ बेलायत, युवा महासंघ बेलायत र नेपाली मूलवासी एकता (एनआईयू) ले सह-आयोजकका रूपमा सहकार्य गरेका छन्। एल्डरशटको हाई स्ट्रिटस्थित हलमा हुने यस समारोहमा बेलायतमा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, अभियन्ता र समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। यसले प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो पुख्र्यौली पहिचान जोगाउन र साझा अधिकारका लागि एकजुट हुन थप ऊर्जा प्रदान गर्ने आयोजक पक्षले बताए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा ‘मिट एण्ड ग्रिट’ सत्र रहनेछ। यस सत्रमा विभिन्न जातीय संस्थाका अध्यक्षहरूबीच परिचय आदानप्रदान र आपसी भेटघाट गराइनेछ। सो अवसरमा उत्कृष्ट नेतृत्व, प्रतिबद्धता तथा संस्थागत योगदान पुर्याउनेहरूलाई औपचारिक रूपमा सम्मान र बधाई ज्ञापन गरिनेछ। साथै समुदायमा उल्लेखनीय सुधार र सकारात्मक परिवर्तनका लागि योगदान दिने व्यक्तित्वहरूलाई पनि विशेष सम्मान गरिने नेफिन यूकेले जनाएको छ।
समारोहलाई मनोरञ्जनात्मक बनाउन नेपालबाट आएकी चर्चित कलाकार अस्मिता राना मगरको विशेष सांगीतिक प्रस्तुति रहनेछ। सहभागी पाहुनाहरूका लागि परम्परागत नेपाली रात्रिभोजको व्यवस्था गरिनुका साथै आकर्षक लक्की ड्र कार्यक्रम समेत सञ्चालन गरिनेछ। कार्यक्रमकै क्रममा मातृभूमि नेपालसँग सम्बन्धित आगामी कार्ययोजना र समसामयिक विषयहरूका बारेमा जानकारीमूलक प्रस्तुति समेत दिइने बताइएको छ। अध्यक्ष मेजर राईले नेफिन यूकेका सम्पूर्ण सदस्य संस्थाहरू, सल्लाहकारहरू र समुदायका अगुवाहरूलाई निर्धारित समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन आह्वान गरे।