बेलायत । बेलायतस्थित नेपालीहरुको पुरानो र प्रतिष्ठित संस्था गुल्मी जिल्ला समाज यूकेको आठौं अधिवेशनबाट मञ्जु भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
अल्डरसटमा आइतबार सम्पन्न अधिवेशनले भण्डारीलाई अध्यक्ष चयन गर्दै संस्थाको नवौं कार्यसमिति घोषणा गरेको हो। समितिको उपाध्यक्षमा क्याप्टेन ताम ढेगा र डा. विष्णु घिमिरे, महासचिवमा महलाल घिमिरे, सचिवमा राधा खरेल, कोषाध्यक्षमा अर्जुन बस्नेत, सह–कोषाध्यक्षमा माया केसी र प्रवक्तामा सुरेश केसी निर्वाचित भएका छन्।
यसैगरी, कार्यसमितिको सांस्कृतिक सचिवमा दीपक थापा मैथाने चयन भएका छन्। सदस्यहरुमा मेजर बुद्धि भण्डारी, सूर्य विक्रम केसी, वासुदेव पोखरेल, लक्ष्मण पौडेल, रामप्रसाद पन्थी, पुण्डरी अर्याल, हिरा सापकोटा, हरिप्रसाद अर्याल, वसन्त खनाल, विश्वप्रताप सिंह, सुधिर गौतम, गीता काफ्ले, देव राना, कपूर श्रेष्ठ, निर्मल पौडेल र दिनेश कुमार खरेल निर्विरोध चुनिएका छन्। सन् २००७ मा स्थापना भएको यस संस्थामा संस्थापक अध्यक्ष ओम थापा तथा पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी, टोप पल्ली, वीर बलाल र निवर्तमान अध्यक्ष रुद्र थापापछि मञ्जु भण्डारीले नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन्।
सल्लाहकार मीन दर्लामी संयोजक तथा मतिप्रसाद पुन सदस्य सचिव र राजेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएको थियो। शपथग्रहण पछि नवनिर्वाचित अध्यक्ष मञ्जु भण्डारी खरेलले आफ्ना अग्रजहरुले कोरेको बाटोलाई अनुशरण गर्दै संस्थामा नयाँ पुस्ताको आकर्षण बढाउने लक्ष्य राखेको बताइन्। उनले बेलायतमा समाजको आफ्नै भवन निर्माण गर्ने र यसलाई सम्पूर्ण गुल्मेलीहरुको साझा संस्थाको रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरिन्।
समाजको महासचिवमा दोस्रो कार्यकाल (२०२४–२०२६) का लागि पुन: निर्वाचित महलाल घिमिरेले संस्थालाई थप सभ्य, अनुशासित र आधुनिक दिशामा डोर्याउँदै उज्यालो भविष्यतर्फ लैजाने अठोट गरे। प्रवक्ताको जिम्मेवारी पाएका युवा व्यवसायी सुरेश केसीले समाजलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट निरन्तर प्रयास रहने उल्लेख गरे। अधिवेशनको अवसरमा संस्थापक अध्यक्ष ओमप्रसाद काउचा, पूर्व अध्यक्षहरु, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपालबाट आएका राजनीतिज्ञ एवं समाजसेवी सुरेशचन्द्र भुषाल तथा विभिन्न सल्लाहकारहरुले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
यसअघि निवर्तमान अध्यक्ष रुद्र थापाको अध्यक्षतामा अधिवेशनको पहिलो सत्र सम्पन्न भएको थियो। सो सत्रमा महासचिव महलाल घिमिरेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष तेजप्रसाद श्रीषले आर्थिक प्रतिवेदन र विधान समिति संयोजक केशव भण्डारीले विधान संशोधन सम्बन्धी प्रस्ताव पेश गरेका थिए, जसलाई छलफल पछि पारित गरिएको थियो। कार्यक्रममा ट्रष्टी समितिका तर्फबाट संयोजक राम गलामीले प्रगति विवरण पेश गरेका थिए। उपाध्यक्ष मुकुन्द हरि खरालको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन महासचिव घिमिरेले गरेका थिए भने गायिका सोनी कुँवरले सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गरेकी थिइन्।