फार्नबोरो। पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक बैठक कार्यबाहक अध्यक्ष रबि गुरुङको अध्यक्षतामा ३ मे २०२६ मा अल्डरसटस्थित ओजोन एएम रेष्टुरेन्टमा सम्पन्न भएको छ। करिब ४० जना सदस्यहरूको उपस्थिति रहेको उक्त बैठकमा अध्यक्ष गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै सबैलाई बुद्ध जयन्तीको शुभकामना दिएका थिए र उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेका थिए।
बैठकमा कोषाध्यक्ष कृष्ण घलेले यूकेमा भएको आयव्यय विवरण प्रस्तुत गरेका थिए भने प्रकाश गुरुङले नेपालस्थित बैंक खाताको आम्दानी तथा खर्चबारे जानकारी गराएका थिए।
समाजका अध्यक्ष देउकाजी गुरुङ हाल नेपालमै रही हर्पनकोट माध्यमिक विद्यालय, कुद्बिडाँडाको मर्मतसम्भार कार्यमा सक्रिय रहेका छन्। उहाँबाट प्राप्त पछिल्लो जानकारीअनुसार विद्यालयमा तारबार लगाउने कार्य सम्पन्न भएको, कक्षाकोठादेखि शौचालयसम्म पैदल मार्ग निर्माण गरिएको, स्टेज निर्माण गरी टिनको छाना हालिएको, साथै ५० वटा काठका कुर्सी, २५ वटा काठका टेबल र ४० वटा प्लास्टिकका कुर्सी खरिद गरिएको महासचिव प्रकाश गुरुङले बैठकमा जानकारी दिए।
यसैगरी, दम्दमे गाउँ निवासी तथा पोखरा मल्टिपल क्याम्पसमा बीबीएस अध्ययनरत जेहेन्दार विद्यार्थी बिबिसा गुरुङलाई शैक्षिक सहयोग प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।
समाजको आगामी वार्षिक भेटघाट कार्यक्रम २० जुन २०२६ शनिबारका दिन फार्नबोरोस्थित स्यामुअल कोडी स्कुलमा आयोजना हुने तय भएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन विस्तृत छलफल गरिएको थियो। उपाध्यक्षले गाउँका प्रतिनिधिहरूलाई चेलीबेटी, भान्जाभान्जी तथा ज्वाइँहरूलाई समेत निम्तो दिन आग्रह गरेका छन्।
कार्यक्रम सफल बनाउन आवश्यक जिम्मेवारी तथा कार्य विभाजन पनि बैठकमा गरिएको थियो।
समाजले प्रत्येक वर्ष आयोजना गर्ने कार्यक्रममा विभिन्न प्रायोजनमार्फत आर्थिक संकलन गर्दै आएको छ। चार गाउँको सानो समाज भए पनि सहयोगी मन भएका व्यक्तिहरूको उल्लेखनीय साथ रहेको छ।
सन् २०२४ मा £४,२०७ र २०२५ मा £६,४५४ संकलन भएकोमा यस वर्षको बैठकमै £३,००० संकलन भएको कोषाध्यक्ष कृष्ण घलेले जानकारी दिए। उठाउँने क्रम शुरु मात्र भएकोछ। उनले आगामी दिनमा पनि सहयोगको यो क्रम जारी रहने विश्वास व्यक्त गरेका छन्।
नेपालबाट वेलायत भ्रमणमा आएका तिलप्रसाद घलेलाई समाजका अध्यक्षले खादा लगाएर स्वागत गरेका थिए।


