शिब कुमार गुरुङ
बेलायत । तमु समाज यूकेले २५७०औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको पावन अवसरमा लन्डन वेम्बलीस्थित बरहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा भव्य स्वस्ति शान्ति पूजा सम्पन्न गरेको छ।
मिति २ मे २०२६ शनिबार आयोजित उक्त धार्मिक कार्यक्रम आमा समूहको सक्रिय सहयोगमा सम्पन्न भएको हो। कार्यक्रम धार्मिक सचिव हरिमान गुरुङको संयोजकत्वमा र अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथि तथा प्रमुख धर्मगुरुका रूपमा बुद्धिष्ट गुम्बा रेडिङका मुख्य गुरु खेन्पो पाल्देन गुरुङ (श्याम गुरुङ) उपस्थित थिए । दक्षिण भारतको प्रसिद्ध नमडोलिङ गुम्बाबाट बौद्ध दर्शनमा उच्च शिक्षा (खेन्पो) हासिल गरेका गुरु पाल्देन गुरुङसँगै रिडिङ निवासी लामा अखिल गुरुङको विशेष उपस्थितिमा पूजा सञ्चालन गरिएको थियो।
खेन्पो पाल्देन गुरुङ (पर्वत, आर्थर डाँडाखर्क) गुरुङ (तमु) लामा बौद्ध धर्म संघका केन्द्रीय सदस्य तथा रुम्जाटार बौद्ध गुम्बाका प्रमुख लामा समेत हुनुहुन्छ। कार्यक्रम स्थलमा प्रमुख अतिथि तथा धर्मगुरुहरूलाई भव्य स्वागत गरिएको थियो। त्यसपछि अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ तथा आमा समूहकी अध्यक्ष बिमला गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्ष शिव सरण गुरुङ, निवर्तमान अध्यक्ष शिव कुमार गुरुङ, उपाध्यक्षहरू भिमबहादुर गुरुङ, केदार बहादुर गुरुङ, मिरा गुरुङ, आमा समूहकी पूर्व अध्यक्ष उमा देवी गुरुङ, सल्लाहकारहरू, युवा समूहका अध्यक्ष प्रज्वालमान गुरुङ, निवर्तमान अध्यक्ष ओमकार गुरुङ लगायत पदाधिकारी, सदस्य, आमा समूहका दिदीबहिनी, युवा समूहका सदस्य तथा लन्डन वरपरका नेपाली जेष्ठ नागरिक र भक्तजनहरूको उल्लेखनीय उपस्थिति थियो।
बुद्ध जयन्ती पूजाको परम्परा निरन्तर सन् २००७ मा स्थापना भई २०१२ मा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको तमु समाज यूकेले स्थापना कालदेखि नै प्रत्येक वर्ष बैशाख पूर्णिमा तथा बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती पूजा गर्दै आएको छ। यस वर्ष पनि आमा समूहको सक्रियतामा कार्यक्रम सम्पन्न गरिएको थियो। आमाहरूले नै विभिन्न परिकार तयार गरी निशुल्क भोजन व्यवस्था गरेका थिए। पूजाका लागि धेरै दानवीरहरूले अर्थ, भोजन, पेय पदार्थ तथा अन्य सामग्रीहरू स्वस्फूर्त रूपमा प्रायोजन गरेका थिए।
बिहान १० बजे आरम्भ भएको पूजामा प्रमुख गुरु खेन्पो पाल्देन गुरुङले उपस्थित सबैलाई बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दै पूजाको आचारसंहिता पालना गर्न आग्रह गरेका थिए। पूजामा सहभागी सबैलाई पूजा अवधिभर मौन बस्न र पूजा भावलाई मननपूर्वक बुझ्न अनुरोध गरिएको थियो, जसले पूजा फल प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने बताइएको थियो।
पूजामा क्रमशः • शुद्धिकरण (साङ पूजा)
• विश्वशान्तिको कामनासहित दीप अर्पण
• बुद्ध स्नान (कुठ्युई) • धर्म दर्शन तथा प्रवचन
• आयुसूत्र पाठ
• पितृहरूको स्मरणमा दीप अर्पण लगायतका विधिहरू सम्पन्न गरियो।
कुठ्युई तमु/गुरुङ समुदायमा प्रयोग हुने शब्द हो, जसले लिटल बुद्ध स्नान—बालक बुद्धको मूर्तिलाई सुगन्धित पानी वा पवित्र जलले स्नान गराउने धार्मिक विधि—लाई जनाउँछ। बुद्धको जन्म क्षणलाई प्रतीकात्मक रूपमा सम्झने यो परम्परा बुद्ध जयन्तीको महत्वपूर्ण अङ्ग मानिन्छ। धर्मदेशनामा खेन्पो गुरुले पञ्चशीलको महत्वबारे विस्तृत व्याख्या गर्दै बुद्धका उपदेशहरू व्यवहारमा उतार्न सबैलाई आग्रह गरेका थिए। पञ्चशीलको अवहेलनाले व्यक्तिगत तथा सामाजिक जीवनमा नकारात्मक प्रभाव पर्न सक्ने र यसको पालनाले सकारात्मक फल प्राप्त हुने उदाहरणहरू प्रस्तुत गर्दै गुरुले उपस्थित भक्तजनलाई प्रेरित गरेका थिए।
अभिषेक, प्रसाद ग्रहण र धन्यवाद ज्ञापन कार्यक्रमको अन्त्यमा भक्तजनहरूले प्रमुख गुरुबाट अभिषेक तथा लामा अखिल गुरुङबाट प्रसाद ग्रहण गरेका थिए। अपरान्ह ४ बजे कार्यक्रम समापन गरिएको थियो। समापन सत्रमा अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले धर्मगुरुहरू, पूजा सञ्चालन गर्ने लामा गुरुहरू, रेडिङ बुद्धिष्ट गुम्बाका अध्यक्ष पूर्व इन्सपेक्टर खेम गुरुङ, आर्थिक सहयोगदाताहरू, भोजन तथा पेय पदार्थ प्रायोजकहरू, आमा समूह, पूजा संयोजक हरिमान गुरुङ तथा परिवार, र उपस्थित सबैलाई हार्दिक धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी पूजा संयोजक हरिमान गुरुङले दिएका थिए भने आर्थिक सहयोग संकलन कोषाध्यक्ष चन्द्रकान्त गुरुङ र पूर्व उपाध्यक्ष तथा सल्लाहकार बिजु गुरुङले सम्हालेका थिए। पूजामा सहभागीहरूले बुद्धको जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण—यी तीनै तिथि एकै दिन परेको त्रिसंयोग दिवसको महत्वबारे विस्तृत ज्ञान प्राप्त गरेको अनुभूति व्यक्त गरेका थिए।



















