बेलायत । बेलायतको अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले १ मे २०२६, शुक्रबारका दिन २५७० औं बुद्ध जयन्ती मनाएको छ। संस्थाले विशेष पूजाका साथै 'अमितायुस' दीर्घायु अभिषेक कार्यक्रमको आयोजना गरी यो दिवस भव्यताका साथ सम्पन्न गर्यो।
दिवसको सुरुवात बिहान ८:३० बजे 'बोधिचित्त शील' ग्रहण गर्ने विधिबाट भएको थियो। त्यसपछि बिहान ११:३० बजे सशस्त्र बलका प्रतिनिधिहरूको उपस्थितिमा झण्डोत्तोलन गरियो। बीसीसी यूकेका अध्यक्ष आङ दावा शेर्पा र अन्य पदाधिकारीहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोहको औपचारिक उद्घाटन गरे।
उक्त समारोहमा बेलायती सांसद एलेक्स बेकर, रसमोरका मेयर काउन्सिलर कालम स्टुअर्ट लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष आङ दावा शेर्पाले संस्थाले गर्दै आएका गतिविधिबारे जानकारी दिए। त्यसैगरी, उपाध्यक्ष क्याप्टेन देव घलेले खेन्पो साङ्गे फुन्छोक शेर्पाको परिचय गराए।
समारोहमा बौद्ध धर्मको प्रसिद्ध 'हृदय सूत्र' वाचन गरियो, जसमा 'शून्यता' (Emptiness) को दर्शनलाई व्याख्या गरिएको छ। यसको मुख्य मन्त्र "गते गते पारगते पारसंगते बोधि स्वाहा" हो। महासचिव मेजर कुमार गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख सल्लाहकार मेजर खुसीमान पख्रिन गुरुङले ट्रष्टी सदस्यहरूलाई प्रमाणपत्र वितरण गरे।
सो अवसरमा खेन्पो साङ्गे फुन्छोक शेर्पाले 'शान्तिको मार्ग: बुद्धको शिक्षालाई जीवनमा उतार्ने कला' विषयमा प्रवचन दिएका थिए। उनले उपस्थित सहभागीहरूलाई 'अमितायुस' दीर्घायु अभिषेक समेत प्रदान गरे। कार्यक्रममा आमा समूहकी अध्यक्ष शारदा गुरुङको नेतृत्वमा मण्डल अर्पण गरिएको थियो। मण्डल अर्पणलाई सम्पूर्ण ब्रह्माण्डको प्रतीकका रूपमा बुद्ध, धर्म र संघप्रति श्रद्धापूर्वक समर्पण गर्ने र आफ्नो अहंकार त्याग गरी पुण्य कमाउने माध्यमका रूपमा लिइन्छ।
कार्यक्रमको समापन गर्दै वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङले सबैलाई धन्यवाद दिए। बुद्ध जयन्तीको अवसरमा बेलायतका विभिन्न ठाउँबाट उल्लेख्य संख्यामा बौद्ध धर्मावलम्बी र भक्तजनहरू भेला भएका थिए। आयोजकले सहभागीहरूका लागि दिउँसो र साँझको विशेष भोजनको समेत व्यवस्था गरेको थियो।







