लन्डन । ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जिआरएनसी) ले शनिबार २५ अप्रिलका दिन आफ्नो त्रैमासिक बैठक भव्य रूपमा सम्पन्न गरेको छ। संस्थाका महासचिव ले. रि. सुनिल रानाले दिएको जानकारी अनुसार बैठकमा हालै मनाइएको नेपाली नयाँ वर्ष २०८३ र अन्तर्राष्ट्रिय महिला दिवसका कार्यक्रमहरूको विस्तृत समीक्षाका साथै विभिन्न साङ्गठनिक प्रतिवेदनहरू प्रस्तुत गरिए।
संस्थाका अध्यक्ष लिला सेलुङ माबोको अध्यक्षतामा आयोजित उक्त बैठकमा संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, ट्रस्टी, सल्लाहकार तथा कार्यसमिति सदस्यहरूको बाक्लो उपस्थिति थियो। बैठकमा मार्चमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवस (संयोजक उपाध्यक्ष अनिता राई) र अप्रिल १२ मा सम्पन्न नेपाली नयाँ वर्ष (संयोजक उपाध्यक्ष उत्तर गुरुङ) कार्यक्रमका बारेमा छलफल भयो। अतिथि र स्थानीय समुदायको उत्साहजनक सहभागिताले दुवै कार्यक्रम समयमै र भव्य रूपमा सफल भएको निष्कर्ष निकाल्दै आगामी दिनमा टेबल व्यवस्थापन जस्ता सुधार गर्नुपर्ने पक्षमा समेत विचार विमर्श गरियो।
बैठकमा कोषाध्यक्ष मिलन रोकाले संस्थाको आर्थिक प्रतिवेदन पेस गरे। त्यस्तै, ट्रस्टी क्या. रि. ग्यारी घलेले विधान संशोधन र सिआईओका बारेमा प्रकाश पारे भने प्रोजेक्ट म्यानेजर सुशीला मगर र सञ्जय राईले संस्थाले सञ्चालन गरिरहेको 'प्रोजेक्ट टुगेदर', सामाजिक सञ्जाल र स्वयंसेवाका गतिविधिहरूबारे पावर पोइन्टमार्फत जानकारी दिए। जिआरएनसीले नेपाली समुदायका लागि गरिरहेको सहयोग र दैनिक कार्यहरूको पारदर्शिताका विषयमा पनि बैठकमा चर्चा भयो।
साङ्गठनिक विस्तारका क्रममा बैठकले संस्थापक अध्यक्ष राज सुब्बा र उनकी धर्मपत्नी सरिता पौडेललाई स्वागत गर्यो। साथै, एकेन्द्र गुरुङलाई सल्लाहकार र श्रेया गुरुङलाई नयाँ कार्यसमिति सदस्यका रूपमा चयन गरियो। कार्यक्रममा रामचन्द्र गुरुङ, टोप पल्ली, दिलरास गुरुङ, जित मेयाङ्बो, विशाल गुरुङ, बिमल गुरुङ लगायतका सदस्यहरूको उपस्थिति थियो।
आगामी कार्यक्रमहरूको जिम्मेवारी बाँडफाँड गर्दै बैठकले जुन ६ मा हुने भिक्टोरिया डेको संयोजन उपाध्यक्ष डा. विशाल गुरुङ र अक्टोबरमा हुने रश्मोर १० के रनको संयोजन उपाध्यक्ष जित मेयाङ्बोलाई तोकेको छ। यसैबीच अध्यक्ष माबोले आगामी स्थानीय निर्वाचनमा काउन्सिलर पदका लागि उम्मेदवार बनेका जिआरएनसीका चारजना सदस्यहरूलाई सफलताको शुभकामना दिँदै उनीहरूलाई सहयोग गर्न सबैलाई अपिल गरे।
संस्थाले आगामी डिसेम्बरमा हुने महाधिवेशनको अवसरमा आफ्नो मुखपत्र 'चिनारी' प्रकाशन गर्ने निर्णय समेत पारित गरेको छ। बैठकको अन्त्यमा अध्यक्ष माबोले नयाँ वर्ष र महिला दिवस सफल बनाउन अहोरात्र खट्ने संयोजकहरू, व्यवसायी, पत्रकार, कलाकार र सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद दिए। उनले आगामी कार्यक्रमहरूमा पनि यस्तै एकता र सक्रियता रहने विश्वास व्यक्त गर्दै बैठक समापन गरे।
