लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेले आफ्नो १९औं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ। २५ अप्रिल २०२६, शनिबारका दिन आशफोर्डस्थित गोडिन्टन भिलेज हलमा आयोजित उक्त कार्यक्रम समाजका अध्यक्ष गोलमान गुरुङको अध्यक्षतामा भएको थियो।
सो साधारणसभाको उद्घाटन अध्यक्ष गोलमान गुरुङ र ९० वर्षीय ज्येष्ठ नागरिक रिटायर्ड देवनारायण गुरुङले पानसमा दीप प्रज्वलन गरेर गरे। कार्यक्रममा प्रथम उपाध्यक्ष ममता गुरुङले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरिन् भने महासचिव पवित्रा गुरुङले कार्यक्रमको सञ्चालन गरेकी थिइन्। सभामा समाजका आजीवन सदस्य र ज्येष्ठ नागरिकहरूको बाक्लो उपस्थिति थियो।
अधिवेशनमा महासचिव पवित्रा गुरुङले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मानबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। सभामा सन् २०२५ र २०२६ मा भएका विभिन्न गतिविधिहरूको समीक्षा गरिनुका साथै आगामी कार्ययोजनाहरूमाथि गम्भीर छलफल भयो। सदस्यहरूले राखेका जिज्ञासाको उत्तर अध्यक्ष गोलमान गुरुङले दिए।
यस पटकको साधारणसभाले केही महत्वपूर्ण निर्णयहरू पनि गरेको छ। समाजले नयाँ पुस्तालाई आफ्नो संस्कार र संस्कृतिसँग जोड्न कौरा गीतको म्युजिक भिडियो निर्माण गर्ने निर्णय गर्यो। यसका लागि समाजले भौतिक, नैतिक र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। त्यस्तै, आगामी वर्ष नेपालको पूर्वी क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायको अवस्था र वस्तुस्थिति बुझ्नका लागि एक अध्ययन भ्रमण गर्ने योजना पनि सभाले पारित गर्यो।
कार्यक्रममा अतिथिहरूको रूपमा तमू धीँ यूकेका पूर्वअध्यक्ष हरी गुरुङ, समाजका सल्लाहकारहरू युवराज गुरुङ र शोभराज गुरुङ लगायतको उपस्थिति थियो। उनीहरूले समाजको विकास र संस्कृति संरक्षणमा कार्यसमितिले खेलेको भूमिकाको प्रशंसा गरे। सांस्कृतिक संयोजक उमादेवी गुरुङ र सह–संयोजक निर्मला गुरुङले पनि आ–आफ्नो धारणा राखेका थिए। कार्यक्रममा सहभागीहरूका लागि खानाको व्यवस्थापन नरेन्द्र गुरुङले हेरेका थिए।
सभाको अन्त्यमा अध्यक्ष गोलमान गुरुङले आफ्नो कार्यकालभरि प्राप्त साथ र सहयोगका लागि सबैप्रति आभार प्रकट गरे। उनले आफ्नो मौलिक भाषा, भेषभूषा र संस्कृतिलाई जोगाएर भावी पुस्तालाई सुम्पिनु नै समाजको मुख्य लक्ष्य रहेको बताए।









फोटो : सूर्य गुरुङ