लन्डन । म्याग्दी अर्गनाइजेसन मोना यूकेले नेपाली नयाँ वर्षको अवसरमा भव्य समारोहबीच शुभकामना आदानप्रदान गरेको छ । शनिबार फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट्स कलेजमा ‘मोना यूके शुभकामना साँझ’ आयोजना गरेको हो ।
संस्थाका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरको अध्यक्षतामा रहेको कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका तृतीय सचिव झुपलाल पुन मगर प्रमुख अतिथि रहेका थिए । महासचिव मन्दिप जुग्जाली मगरले कार्यक्रम सञ्चालन गरेका थिए । वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक लाल बहादुर पुन मगरले स्वागत मन्तव्य राखेका थिए ।
पहिलो चरणमा दीप प्रज्वलन, नेपाल र यूकेको राष्ट्रिय गान तथा संस्थाका दिवंगत सदस्यहरूको सम्झनामा दुई मिनेट मौनधारण गरिएको थियो ।

सांस्कृतिक सचिव शिला थापा मगरको संयोजनमा सांस्कृतिक कार्यक्रम भएको थियो । कलाकारहरू ललिता पुन, निरुता पुन, सरिष्मा राम्जाली, आस्मा छन्त्यालसहित स्थानीय कलाकारको नृत्य तथा गीतमा सहभागीहरूले रमाइलो गरेका थिए ।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर र पूर्वअध्यक्ष दल जुग्जाली मगरलगायत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिक्षा तथा अन्य विभिन्न क्षेत्रमा सफलता हासिल गरेका सदस्यहरूलाई सम्मान गरिएको थियो ।
अन्त्यमा अध्यक्षले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समापन गरेका थिए ।