लन्डन । बेलायत (लन्डन) मा हुने लन्डन म्याराथन २६ अप्रिल २०२६ आइतबारका दिन हुने भएको छ ।
लन्डनमा हुने सबैभन्दा ठूलो इभेन्टको रुपमा प्रख्यात यो म्याराथन विश्वभरमै अग्रपंक्तिमा गनिन्छ । बेलायतमा नेपालीहरुको संख्या धेरै भएकाले निरन्तर रुपमा सहभागिता जनाइरहेका छन् । यस पटकको प्रतियोगितामा पनि बेलायतमा रहेका नेपालीहरुको उत्साहपूर्ण सहभागिता हुने भएको छ ।
नेपालीहरुबाट बेलायतमा रजिष्ट्रर र हालै अन्य एक दर्जनभन्दा बढि देशहरुमा फैलिसको 'नेपाल रन' क्लबबाट झण्डै ५० जना भन्दा बढि धावकहरुले यस पटक लन्डन म्याराथनमा भाग लिने नेपाल रनका संयोजक सन्तोष राइले जानकारी दिए । सन्तोष राई आफै पनि गिनिज वर्ल्ड रेकर्ड होल्डर हुन् । उनकै समन्वयमा संसारभरबाट लन्डन म्याराथनमा भाग लिन खेलाडीहरु बेलायत आइपुगेका छन् । जसमा जर्मनी, बेल्जियम, अष्ट्रेलिया, अष्ट्रिया, यूनाइटेड अरब इमिरेट्स, सर्बिया, सिंगापुर, यूके, अमेरिका र नेपालसहित १० देशका धावकले नेपाल रनमार्फत सहभागिता जनाउने भएका छन् ।
खेलाडीहरुमा अष्ट्रेलियाबाट चन्द्रप्रकाश गुरुङ, दिनेश पाण्डे, किशोर अर्याल, जर्मनीबाट फरेन्द्र श्रेष्ठ, नेपालबाट सहदेव व्यञ्जनकार, सिंगापुरबाट सुवास गुरुङ, अमेरिकाबाट अनुप श्रेष्ठलगायत लन्डनका स्थानीय खेलाडीहरु रेस प्याक लिनका लागि एक्सल लन्डनमा भेट भएका थिए । विभिन्न देशबाट नेपाली खेलाडी सहभागी हुँदा नेपाल रनका संयोजक सन्तोष राई अति नै खुसी देखिन्थे ।
धावकहरुले संकलन गरेकाे च्यारिटी रकम नेपालको हाई अल्टिच्युट ट्रेनिङ सेन्टर जुम्लामा खर्च हुने नेपाल रनका संयोजक सन्तोष राइले गोर्खा मिडियालाई जानकारी दिएको छ । उनीहरु नम्बर कलेक्सन गरेपछि अन्य खेलाडीसँग भेटघाट गरी आइतबार हुने प्रतियोगिताको तयारीमा लागेका थिए ।



