बेलायत । लन्डनस्थित नेपाली दूतावासले स्कटल्यान्ड र प्रेस्टन क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरूको सहजताका लागि राहदानी तथा कन्सुलर सेवा सम्बन्धी विशेष घुम्ती शिविर आयोजना गर्ने भएको छ। गैरआवासीय नेपाली संघ स्कटल्यान्ड र नेपाली समाज प्रेस्टनको आपसी समन्वयमा आगामी मे ३ र ४ तारिखमा यो शिविर सञ्चालन हुन लागेको दूतावासले जनाएको छ।
तालिका अनुसार मे ३ तारिखका दिन दिउँसो १ बजेदेखि ५ बजेसम्म प्रेस्टनमा शिविर सञ्चालन हुनेछ। यसबाट प्रेस्टनका साथै म्यानचेस्टर, लिभरपुल, कार्लिस र बोल्टन लगायतका नजिकैका क्षेत्रमा बस्ने नेपालीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ। उक्त क्षेत्रका लागि हरिकृष्ण कार्कीलाई स्थानीय सम्पर्क व्यक्तिको जिम्मेवारी दिइएको दूतावासले बताए। त्यस्तै, मे ४ तारिखका दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म स्कटल्यान्डमा शिविर आयोजना गरिनेछ। स्कटल्यान्डमा सेवा लिन चाहनेहरूका लागि शेरबहादुर केसी, सागर भण्डारी, काशीराम भण्डारी, माधव भण्डारी, पदम खरेल र हरि खत्रीलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ।
यस घुम्ती शिविरमार्फत राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, एकतर्फी यात्रा अनुमतिपत्र र पर्यटक भिसा जस्ता सुविधाहरू प्रदान गरिनेछ। विशेषगरी मे २०२५ सम्म म्याद भएका राहदानीहरूको यसै शिविरबाट नवीकरण गर्न सकिने जानकारी दिइएको छ। विद्युतीय राहदानी नवीकरणका लागि सेवाग्राहीले अनलाइन फाराम, सक्कल नेपाली नागरिकता, पुरानो राहदानी र अन्य आवश्यक सहायक कागजातहरू अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने दूतावासले बताएकाे छ ।
राहदानी शुल्कका हकमा ३४ पृष्ठको राहदानी नवीकरणका लागि ११० पाउन्ड, राहदानी हराएको अवस्थामा २२० पाउन्ड र १० वर्ष मुनिका बालबालिकाको हकमा ५५ पाउन्ड तोकिएको छ। यसैगरी, अधिकृत वारेसनामाका लागि सेवाको प्रकृति हेरेर ५ देखि ३५ पाउन्डसम्म र कागजात प्रमाणीकरणका लागि प्रति कागजात ४० पाउन्ड शुल्क लाग्ने बताइएको छ।