अल्डरसट । बेलायतमा ग्यालिपोली कम्पनीको ‘ग्यालिपोली डे तथा वार्षिक भेटघाट’को तयारी तीव्र बनाइएको छ ।
कार्यक्रम आगामी २५ अप्रिलमा अल्डरसटस्थित दि लन्ज रेस्टुरेन्टमा हुनेछ । यसको तयारीस्वरुप १० अप्रिलमा संस्थाको बैठक बसेको थियो ।
बैठकले कार्यक्रम व्यवस्थापनलाई भव्य बनाउन जिम्मेवारी बाँडफाँट सहितका निर्णय गरेको छ । स्टेज इन्चार्जमा तर्कजंग गुरुङलाई जिम्मेवारी दिइएको छ । मनोरञ्जनतर्फ कुमार गुरुङ इन्चार्ज रहेका छन् ।
नेपालबाट आएकी चर्चित गायिका सविना बुढा मगरले सांगीतिक प्रस्तुति दिनेछिन् । डान्सर सरिस्मा रामजालीले विशेष नृत्य प्रस्तुत गर्नेछिन् । राफल ड्र अमृत गुरुङले सञ्चालन गर्नेछन्।
रिसेप्सनमा मिन गुरुङको नेतृत्वमा कमला (ए), शारदा, मीना र कमला (बी) लगायतले अतिथिको स्वागत गर्नेछन् । साथै, कार्यक्रममा ‘WELCOME TO A GALLIPOLI COMPANY ANNUAL GETTOGETHER’ लेखिएको नयाँ ब्यानर प्रयोग गर्ने निर्णय बैठकले गरेको छ ।
क्याप्टेन वीरबहादुर थापाले ग्यालिपोली ‘ब्याटल अनर’ सम्बन्धी संक्षिप्त मन्तव्य दिनेछन् । मेजर जे. एल. डेभिसले ग्यालिपोली कम्पनीबारे जानकारी गराउनेछन् ।
दिउँसो १२ बजेबाट डोर ओपन हुनेछ । कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति २५ पाउन्ड प्रवेश शुल्क तोकिएको कओअर्डिनेटर आयोजक शान्तकुमार गुरुङले जानकारी दिए ।
कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सबै सदस्य तथा परिवारलाई समयमै उपस्थित हुन आग्रह गरिएको छ ।