लण्डन । पोखरेली मञ्च यूकेले खेलकुद र सामाजिक गतिविधिलाई जोड्दै यस वर्ष ‘९औं पीपल नेपाल कप टी–२० क्रिकेट प्रतियोगिता–२०२६’ र ‘नेपाल क्याम्प–२०२६’ आयोजना गर्ने भएको छ।
यी दुवै कार्यक्रमहरूमा बेलायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन खुला अपील गरिएको छ। क्रिकेट प्रतियोगिता आगामी जुलाई ५, ८ र १२ तारिख मा Reading Cricket Club, Sonning Lane (RG4 6ST) मा आयोजना हुनेछ। यस प्रतियोगितामा Peepal मुख्य प्रायोजक रहेको छ।
प्रतियोगिता पोखरेली मञ्च यूकेका निवर्तमान अध्यक्ष करम गुरुङको संयोजकत्व तथा स्पोर्ट्स कोअर्डिनेटर प्रकाश गुरुङ तथा विनय पुनको सह–संयोजकत्वमा सञ्चालन हुने जनाइएको छ। यसैगरी, विगतमा “Hike for Nepal” नाममा संयुक्त रूपमा सञ्चालन हुँदै आएको कार्यक्रमलाई यस वर्षदेखि रूपान्तरण गर्दै “नेपाल क्याम्प–२०२६” का रूपमा पोखरेली मञ्च यूकेको एकल आयोजनामा सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रम मञ्चका उपाध्यक्ष शेरा गुरुङको कोअर्डिनेशनमा आयोजना हुनेछ।
नेपाल क्याम्प आगामी जुलाई २४ देखि २६ तारिखसम्म बेलायतको बाथस्थित Manor Farm, Upton Cheyney, Bristol (BS30 6NQ) मा आयोजना गरिनेछ। आयोजकका अनुसार, यो कार्यक्रम नितान्त पारिवारिक वातावरणमा सञ्चालन गरिने र विशेषगरी बेलायतमा हुर्किरहेका नेपाली बालबालिकाहरूका लागि विभिन्न सिर्जनात्मक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिनेछन्।यसपालीको क्याम्पिङमा क्याम्परहरुको लागी बोनसको रुपमा हाम्रो डबली बेलायतको लाईभ सांगीतिक साँझ हुने पनि छ ।
पोखरेली मञ्च यूकेको हालै सम्पन्न बैठकले संगठनात्मक रूपमा पनि महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठक जनवरी १७, २०२६ मा निर्वाचित अध्यक्ष गंगा गुरुङ (पबित्र गुरुङ) को सभापतित्वमा, उपाध्यक्ष शेरा गुरुङको बाथस्थित Yak Yeti Yak Restaurant मा मार्च २२ मा सम्पन्न भएको थियो।
उक्त बैठकले मञ्चको महासचिवमा बिक्रम भट्टराई तथा सदस्यमा हङकङ युकेका पुर्व अध्यक्ष प्रेम गुरुङ (बेजिङ्स्टोक) लाई नियुक्त गरेको छ। साथै, मञ्चले विगतदेखि सञ्चालन गर्दै आएका कार्यक्रमहरूलाई नयाँ शैलीमा निरन्तरता दिने निर्णय गरेको छ। पोखरेली मञ्च यूकेले यी कार्यक्रममार्फत बेलायतस्थित नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्दै खेलकुद, संस्कार र पारिवारिक मूल्यलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।