अल्डरसट । तनहुँ समाज यूकेको १९औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रममा लोकगायक प्रेमराजा महतसहित चर्चित व्यक्तित्व र कलाकारहरू यूके आउने भएका छन् ।
आगामी ८ अगस्टमा अल्डरसटस्थित Alderwood Leisure Centre मा हुने कार्यक्रममा महतसहित फुटबल खेलाडी अस्मिता आले र सुटिङतर्फ किङ्स मेडल विजेता कप्रोल निश्चल थापा आउने भएका हुन् ।
‘पानको पात’देखि ‘बाझोखेतमा’ हुँदै ‘बन्दीपुरैमा’ जस्ता दर्जनौँ चर्चित गीतमार्फत लोकप्रिय बनेका गायक महतले कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । साथै, समाजका कौराहा गुरु मोहन वीर थापा र उनको टिमले लाइभ कौराहा नृत्य प्रस्तुत गर्नेछन् । कलाकारहरू मनसुदन थापा, पवन राना, प्रकाश थापा, नायिका तथा मोडल सविता (नाना) राना, चारघरे चेली समूहलगायत कलाकारको समेत आकर्षक प्रस्तुति रहनेछ ।
यसैगरी, जुनु थापा, यासिका थापा, माया मगर, सुरक्षा मगर, प्रतिमा आले, अर्चिता गौतम, सम्प्रदा राई र रोनीशा आलेको प्रस्तुतिले कार्यक्रम थप रोमाञ्चक बन्ने महासचिव महेन्द्र आलेले बताए । कार्यक्रमलाई थप रोचक बनाउन सुनचाँदी लगायतका आकर्षक पुरस्कारसहित राफल ड्र गरिनेछ । स्वादिष्ट नेपाली खानाका परिकारहरू पनि उपलब्ध गराइनेछ ।
उच्च शिक्षा हासिल गरेका बाबुनानी तथा विभिन्न सामाजिक तथा संस्थागत क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।
समाजका अध्यक्ष सन्तबहादुर गुरुङले कार्यक्रम भव्य बनाउन जिल्लावासी तथा नेपाली समुदायलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।