लन्डन । तमु समाज यूकेका ज्येष्ठ सदस्य स्व. धन सिङ गुरुङको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । आइतबार वेम्बलीस्थित समाजको सामुदायिक भवनमा कार्यक्रम भएको हो ।
हलको क्षमताभन्दा बढी सहभागी उपस्थित भएपछि धेरैले उभिएरै दिवंगतप्रति श्रद्धा व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन, समयपालना तथा व्यवस्थापनप्रति सहभागीहरूले प्रशंसा गरेका थिए । विशेषगरी आमा समूहद्वारा गरिएको आतिथ्य तथा प्रभावकारी व्यवस्थापन कार्यक्रमको मुख्य आकर्षण बनेको थियो ।
९२ वर्षको उमेरमा २२ मार्चमा निधन भएका गुरुङको पार्थिव शरीर उनको अन्तिम इच्छा तथा परिवारको चाहनाअनुसार अन्त्येष्टिका लागि नेपाल लैजाने तयारी भइरहेको छ । बेलायतमा रहेका आफन्त, इष्टमित्र तथा शुभचिन्तकहरूले सामूहिक रूपमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पाउन् भन्ने उद्देश्यले सभा आयोजना गरिएको हो ।
यस प्रकारको शोकसभा तमु समाज यूकेले आफ्नो आजीवन सदस्यको सम्मानमा पहिलो पटक आफ्नै सामुदायिक भवनमा आयोजना गरेको हो । जसलाई बेलायतस्थित नेपाली समुदायमा एउटा उदाहरणीय कार्यका रूपमा लिइएको छ । कार्यक्रम बिहान १०:३० बजे सुरु भएको थियो।
संस्थाका पूर्वमहासचिव तथा सल्लाहकार धरम बल गुरुङले कार्यक्रम सञ्चालन गर्दै उपस्थित सबैलाई स्वागत गर्नुका साथै स्वास्थ्य तथा सुरक्षाबारे जानकारी गराएका थिए । लगत्तै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै उपस्थित सबैले एक मिनेट मौन धारण गरेका थिए ।

कार्यक्रमको मुख्य अंशअन्तर्गत स्व. धन सिङ गुरुङको जीवनवृत्त निवर्तमान अध्यक्ष शिव कुमार गुरुङले भावुक शैलीमा वाचन गरेका थिए । उनको जीवनका महत्त्वपूर्ण झलक प्रोजेक्टरमार्फत स्लाइडका रूपमा प्रस्तुत गर्दा सबै भावविह्वल बनेका थिए ।
परिवारका तर्फबाट ज्येष्ठ सुपुत्र सुब सिङ गुरुङले तमु समाज यूकेले देखाएको साथ, सहानुभूति र सम्मानप्रति आभार व्यक्त गरे । उनले यस दुःखद घडीमा समाज र शुभेच्छुकबाट प्राप्त सहयोगले परिवारलाई ठूलो हौसला मिलेको बताए । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ब्रेन्ट बरोका पूर्वमेयर काउन्सिलर भगवान सिंह चोहान लगायत सबैप्रति धन्यवाद ज्ञापन गरे ।
तमु समाज यूकेकी अध्यक्ष बिन्दु कुमारी गुरुङ घलेले दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, सदस्य तथा विशेषगरी आमा समूहप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन् । सोही क्रममा अध्यक्ष घले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले शोकसन्तप्त परिवारलाई संयुक्त रूपमा समवेदना पत्र हस्तान्तरण गरे । उक्त पत्र स्व. गुरुङका सुपुत्रद्वय—तमु समाज यूकेका सल्लाहकार एवं ट्रस्टी सुब सिङ गुरुङ र कार्यसमिति सदस्य दिनेश गुरुङले ग्रहण गरेका थिए ।
श्रद्धाञ्जली अर्पणको चरणमा परिवारका सदस्य, तमु समाज यूकेका पदाधिकारी, संस्थापक तथा पूर्व अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि र शुभचिन्तकहरूले पुष्पगुच्छा अर्पण गर्दै दिवंगतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा ‘भवतु सब्ब मंगलम्’को कामनासहित बिहान ११:४५ बजे सभा विसर्जन गरिएको थियो ।
कार्यक्रमपश्चात् जलपानको व्यवस्था तमु समाज यूके आमा समूह तथा परिवारको तर्फबाट गरिएको थियो । उक्त सभामा तमु धीं यूके, तमु प्येल्हु संघ यूके, एनआरएनए यूके, बँगेली समाज यूके, रामबजार समाज यूके, फेदिखोला समाज यूके, तमु धीं लन्डन इकाइ, बोन्टवक समाज यूके, लेम तमु समाज यूके, स्याङ्जा समाज यूके, साबेत मौजा समाज यूके तथा नाता–गोता समाज यूके लगायतका प्रतिनिधिहरूको गरिमामय उपस्थिति थियो ।