बेलायत । अल्डरसटस्थित एम्पायर हलमा आइतबार क्षेत्री समाज बेलायतको वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष क्याप्टेन टेक जिसीको अध्यक्षतामा भएको सो कार्यक्रममा संरक्षक ध्रुव केसीसहित पूर्वअध्यक्षहरू, सल्लाहकारहरू र कार्यसमिति सदस्यहरूको बाक्लो उपस्थिति थियो । पहिले क्षेत्री समाजका रूपमा चिनिएको यो संस्था अहिले ‘क्षेत्री वेलफेयर फाउन्डेसन यूके’ का रूपमा आधिकारिक च्यारिटी संस्थामा दर्ता भइसकेको छ । सोही सन्दर्भमा सभाले संस्थाको भावी कार्यदिशा, उद्देश्य र सामाजिक जिम्मेवारीका विषयमा गहन छलफल गरेको छ ।
च्यारिटीका रूपमा मान्यता पाएपछि अब संस्थाले बेलायत र नेपाल दुवै देशमा मानवीय सेवा र सामाजिक कार्यहरूलाई समान प्राथमिकताका साथ अगाडि बढाउने लक्ष्य राखेको छ । सभामा कोषाध्यक्ष सञ्जयध्वज भण्डारी र सचिव आनन्द थापाले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसै अभियान अन्तर्गत आगामी डिसेम्बर १३ मा अल्डरसटको एम्पायर हलमा एक बृहत् च्यारिटी कार्यक्रम आयोजना गरिने भएको छ, जसको संयोजनको जिम्मेवारी उपाध्यक्ष प्रतिमा केसीलाई सुम्पिएको छ ।
अध्यक्ष टेक जिसीले बाँकी जीवन समाजसेवामा लगाउने प्रतिबद्धता जनाउँदै नयाँ पुस्तालाई संस्थामा बढीभन्दा बढी समेट्नुपर्नेमा जोड दिए । उनले संस्थाको प्रगतिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ सक्रिय हुन आग्रह गरे । यस्तै, संरक्षक ध्रुव केसीले संस्थाको स्थायित्वका लागि निकट भविष्यमै आफ्नै भवन खरिद गर्ने प्रक्रिया अघि बढाउन सुझाव दिए ।
पूर्वअध्यक्षहरू प्रेम खड्का, धन कुँवर, कृष्ण अधिकारी र निवर्तमान अध्यक्ष श्रद्धा थापाले दशकौँको प्रयासपछि संस्थाले च्यारिटीको स्वरूप पाएकोमा खुसी व्यक्त गर्दै यसलाई थप उचाइमा पु¥याउनुपर्ने बताए ।
संस्थाले आगामी जुलाई १२ मा वार्षिक भेला तथा समर गेट–टुगेदर आयोजना गर्ने निर्णय गरेको छ । बेलायतभर छरिएर रहेका करिब ४०० आजीवन तथा साधारण सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको यस कार्यक्रमले नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । सोही अवसरमा संस्थाकी सदस्य शिला थापाको संयोजनमा एक विशेष पुस्तक समेत प्रकाशन गरिने भएको छ । हालसम्म तीन दर्जन लेखरचना संकलन भइसकेको र आगामी एक महिनाभित्र थप सामग्री जुटाएर वार्षिक भेलाकै दिन पुस्तक विमोचन गर्ने तयारी छ ।
साधारण सभाकै अवसरमा ’एमबीइ’ जस्तो प्रतिष्ठित बेलायती सम्मानबाट विभूषित हुन लागेका मेजर चक्रबहादुर खत्रीलाई संस्थाका तर्फबाट सम्मान गरियो । खत्रीले आगामी दिनमा बेलायती राजा चाल्र्सबाट वीन्डसर क्यासलमा उक्त पदक ग्रहण गर्नेछन् । उनले आफ्नो कार्यको मूल्यांकन भएकोमा खुसी व्यक्त गरे । यसैगरी, उपाध्यक्ष प्रतिमा केसीको संयोजनमा यस वर्षको तीज कार्यक्रम रेडिङमा आयोजना गरिने भएको छ भने दशैं र तिहारका कार्यक्रमबारे पनि छिट्टै जानकारी गराइने बताइएको छ । महासचिव बुद्धिबहादुर भण्डारीले डिजिटल माध्यमबाट सञ्चालन गरेको उक्त सभाले संस्थाको आगामी साधारण सभा सन् २०२७ अप्रिल ४ मा गर्ने निर्णय गरेको छ ।