बेलायत । बेलायतमा बसोबास गर्दै आएका पूर्व ब्रिटिस गोर्खा सैनिक क्याप्टेन लक्षबहादुर गुरुङले यस वर्ष पुनः विश्वकै चुनौतीपूर्ण मानिने 'एभरेष्ट म्याराथन' मा दौडने भएका छन्।
कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँका स्थायी बासिन्दा गुरुङले यस साहसिक दौडमार्फत २ हजार पाउण्ड आर्थिक सहयोग जुटाउने लक्ष्य राखेका छन्। संकलित रकम उनले नेपालमा गोर्खा सैनिकहरूको ऐतिहासिक गौरव र योगदानलाई संरक्षण गर्दै आएको 'गोर्खा मेमोरियल म्युजियम' लाई प्रदान गर्ने बताएका छन्।
सन् १९८४ मा ब्रिटिस सेनामा भर्ना भई करिब २५ वर्षभन्दा लामो गौरवमय सेवापछि सन् २०१० मा अवकाश प्राप्त गरेका गुरुङ आफ्नो अनुशासन र नेतृत्व क्षमताका कारण क्याप्टेन पदसम्म पुग्न सफल भएका थिए। अवकाशपछिको जीवनलाई पनि सामाजिक सेवा र सक्रिय जीवनशैलीमा समर्पित गर्दै आएका उनी आफ्नो जन्मथलो ल्वाङको विकास, शिक्षा र खेलकुद क्षेत्रमा समेत निरन्तर आर्थिक तथा नैतिक सहयोग पुर्याउँदै आएका छन्।
विशेषगरी गाउँका युवाहरूलाई अनुशासित र स्वस्थ जीवन बाँच्न प्रेरित गर्नु उनको अभियानको एक हिस्सा रहँदै आएको छ। समुद्र सतहबाट ५ हजार ३ सय ६४ मिटरको उचाइमा रहेको सगरमाथा आधार शिविरबाट सुरु हुने यो म्याराथन भौगोलिक जोखिम, अक्सिजनको कमी र कठोर मौसमका कारण निकै कठिन मानिन्छ।
सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको सम्झनामा हरेक वर्ष मे २९ मा यो प्रतियोगिता आयोजना गरिन्छ। गत वर्ष ७ घण्टा २२ मिनेटमा यो दूरी पार गरेका क्याप्टेन गुरुङका लागि यसपटकको सहभागिता केवल खेलकुद मात्र नभएर सामाजिक उद्देश्य प्राप्तिको एउटा महत्वपूर्ण माध्यम समेत हो।
गोर्खा सैनिकहरूको बहादुरी र बलिदानको इतिहासलाई भावी पुस्तासम्म सुरक्षित राख्नु नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै गुरुङले सहयोगका लागि सबैमा अपिल गरेका छन्। सानो वा ठूलो जस्तोसुकै सहयोगको पनि ठूलो अर्थ रहने उल्लेख गर्दै उनले 'जस्ट गिभिङ' मार्फत आर्थिक संकलन अभियान सुरु गरेका छन्। व्यक्तिगत साहस र सामाजिक उत्तरदायित्वको संगम मानिएको क्याप्टेन गुरुङको यो सत्कर्मलाई धेरैले एक प्रेरणादायी अभियानको रूपमा हेरेका छन्।